logo
  • शनिबार, भाद्र २० २०८३

ठेक्केदार सिंगासनले भ्रष्टाचारको पैसाबाट चुनाव जितने दाउमा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

रंजित चौरासिया, वीरगंज कार्तिक २६।
पर्सा निर्वाचन क्षेत्र नं. ४ “ख”को जसपा एमाले गठबन्धनका साझा उम्मेदवार सिंगासन साह कलवारले मधेश प्रदेशमा करोडौं करोडको ठेक्का लिई अलपत्र पारेकै कारण यसपाली उनलाई मतदाताहरुले मत नदिने अडान लिएका  छन् ।

निवर्तमान प्रदेशसभा सदस्य सिंगासन साह कलवार २०७४ सालको निर्वाचनमा निर्वाचित भए देखि नै मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई प्रभावमा पारी अबौंको ठेक्का हात पार्न सफल भएका थिए । भ्रष्ट प्रवृतिका सिंगासनले ठेक्का लिए पनि उनी अधिकांश कामहरु अधुरै छाडेका छन् भने कतिपय योजनाहरु अधुरै रहेपनि काम भन्दा बढी बजेट निकासा गराएको स्रोतले जनाएको छ ।

कलवार मधेश आन्दोलनको हावा चलेको बेला २०७४ सालमा पर्साको निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट जितेका थिए। मुख्यमन्त्री लालबाबु राउत गद्दीसँग घनिष्ट सम्बन्ध बनाई सिंगासनले प्रदेश सरकारबाट पोखरी सौन्दर्यकरण, सडक निर्माण लगायतका अधिकांश ठेक्का आफु संलग्न रहेको कम्पनीलाई पार्न लगाएको पाइएको छ । उनी पर्सा जिल्लामा मात्र ३० करोड ४३ लाख रुपैयाँमा ३ वटा पोखरी सौन्दर्यीकरणको ठेक्का लिएका छन् ।

मुख्यमन्त्री कार्यालयबाट लगाइएको ठेक्का ३ वर्षमा सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि हालसम्म कुनै पनि पोखरी सौन्दर्यीकरणको काम पुरा नभएकोले यसपालि उनलाई भ्रष्टाचारी भन्दै मतदाताहरु हराउनमा कम्मकर कसेर लागेको बुझिएको छ । रञ्जन निर्माण सेवाले वीरगंजको मुर्ली पोखरी ९ करोड ९७ लाख र वीरगंजकै नगवा पोखरी १० करोड रुपैयाँ ठेक्का पाएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा पाएको पोखरी सौन्दर्यीकरणको ठेक्का ३ वर्षको अवधिमा सम्पन्न गर्नुपर्ने थियो, तर अवधि भित्र सम्पन्न नगरी पुनः म्याद थपको लागि निवेदन दिएको बुझिएको छ । मुर्ली पोखरीमा काम गरेर साढे ५ करोड र नगवा पोखरीमा काम गरे वापत करिब ४ करोड रुपैयाँ भुक्तानी रन्जन निर्माण सेवाले लिइसकेको बताईएको छ ।

वीरगंजको नगवा र मुर्ली पोखरी अहिले २५ प्रतिशत पनि काम पुरा नभएको नगवाका राजदेव पटेलले बताए ।२०७५/७६ मै रन्जन निर्माण सेवाले छिपहरमाईको पोखरी पनि सौन्दर्यीकरण गर्ने काम पाएको थियो । १० करोड ४४ लाख रुपैयाँको सो ठेक्काको २ करोड रुपैयाँ निकासा भइसकेको छ । तर, पोखरी अलपत्र छ । यस्ता थुप्रै योजनाहरु अलपत्र छोडेपनि निकासा भएको बजेटबाट मतदाताहरुलाई रिझाई यसपालि पनि चुनाव जित्ने दाउमा रहेको उनकै एकजना सहयोगीले नाम न  खुलाउने  शर्तमा साझा नेटवर्कलाई   बताएका छन् ।

एक पल्ट जिताएपछि करोडौं करोड भ्रष्टाचार गर्न पल्केका कलवारलाई यसपालि पनि जिताए उनले अर्बौसम्म भ्रष्टाचार गर्न सक्ने भएकाले उनलाई कुनै पनि हालतमा नजिताउने मतदाताहरुको मानसिक्ता रहेको चर्चा व्यापक रुपमा चलिरहेको पाईएको छ ।

यस्ता समाजका कलंकित, भ्रष्टचारीहरुलाई चुनाव नै लडन नपाउने नियम बनाउन आवश्यक रहेको सचेत नागरिकहरुले बताउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend