logo
  • शनिबार, साउन ३० २०८३

बर्दघाट निर्वाचन कार्यालयकै आसपासमा निर्वाचन बहिष्कार अभियान सक्रिय


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

जगत ठाडा मगर, नवलपरासी कार्तिक २१ ।
निर्वाचन कार्यालयकै आसपासमा निर्वाचन बहिष्कार गर्ने पक्षले मतदाता भेटघाट तथा घरदैलोमा सक्रिय भएको पाइएको छ ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको कार्यालयमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को लागि निर्वाचन अधिकृतको कार्यालय संचालनमा छ । सोही आसपासमा आइतवार निर्वाचनको सक्रिय बहिष्कार गरौ भन्ने मुल नाराका साथ बहिष्कार अभियान संचालन भएको एक स्थानीयले जानकारी दिए ।

मोहन बैद्य किरण नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी)का नेता कार्यकर्ताले भण्डाफोर तथा बहिष्कारको आह्वान गर्दै घरदैलो गरेको पाइएको हो । बैद्य माओवादीका जिल्ला सेक्रेटरी छविलाल खरेलको नेतृत्वमा बर्दघाट–४ नगरपालिका टोल, हरियाली नगर देवीनगर र हाटबजार क्षेत्रमा बहिष्कारको आह्वानसहित घरदैलो कार्यक्रम गरिएको थियो । दलाल संसदीय ब्यवस्थाका राष्ट्रघाती जनघाती उम्मेदवारहरुलाई मत दिन नहुने भन्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता कार्यकर्ताले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीब्र बनाएका हुन् ।

किसान, मजदुर, भुमिहीन तथा सुकुम्बासी लगायतका वर्गलाई पटक पटक झुक्याउने प्रतिक्रियावदी संसदीय ब्यवस्थाको निर्वाचनको मतपेटिका खाली गर्नुपर्छ भन्दै क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता घरदैलोमा ब्यस्त भएको जनाइएको छ । उनीहरुले सानो सानो समुह बनाएर मतदातालाई चुनाव बहिष्कार गर्न उर्दीसमेत जारी गरेका छन् ।

आइतवारको घरदैलो कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज क्षेत्र बहादुर थापा क्षेत्री, जिल्ला सेक्रेटरी छविलाल खरेल, देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष चुडामणी भण्डारी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का जिल्ला संयोजक सुर्य प्रसाद सापकोटा, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका जिल्ला संयोजक ज्ञान बहादुर केसी, राष्ट्रिय उद्योग ब्यापार महासंघका जिल्ला संयोजक प्रेम पोखरेल लगायतका नेता कार्यकर्ता सहभागी भएको बताइएको छ ।

जिल्लाको दुईवटै निर्वाचन क्षेत्रका सातै पालिकाको बिभिन्न स्थानमा भोट बहिष्कार गर्न आह्वान गर्दै अभियान संचालन भइरहेको जिल्ला सेक्रेटरी खरेलले जानकारी गराउनुभयो । संघीय जनगणतन्त्रको संर्घषको तयारी स्वरुप क्रान्तिकारी माओवादीले निर्वाचन बहिष्कारलाई अभियानात्मक रुपले संचालन गरेको खरेलले बताउनुभयो ।

सो पार्टीका बर्दघाट नगर ईञ्चार्जसमेत रहेका भण्डारीले बर्दघाट नगर अन्तरगतका बिशेष एरियाहरुमा घरदैलो संचालन रहेको बताए । आइतवार बिहान बर्दघाट- ४ को मर्चाखोला, शिवालय टोल र दिउँसो हाटबजार, नगरपालिका लाइन, देवीनगर र हरियाली नगरलगायतमा कार्यक्रम गरिएको जानकारी दिनुभयो । पश्चिम नवलपरासीमा नेकपा (क्रान्तिकारी माओवादी) नेकपा (बहुमत), नेकपा मशालले निर्वाचन बहिष्कार तथा अबज्ञा गर्दै आएका छन् ।

विप्लव नेतृत्वको नेकपाले निर्वाचन खारेजीको माग गर्दै कार्यक्रम गर्दै आएको छ । यता निर्वाचन नजिकै गर्दा जिल्लामा सुरक्षा ब्यबस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी पाण्डेयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend