साझा नेटवर्क
रञ्जित चौरसिया, बारा कात्तिक ४ ।
बारा क्षेत्र नं. ४ का प्रतिनिधीसभा सदस्य उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) मतदातालाई गाली गरेपछि पुनः विवादमा तानिएका छन् । शुक्रवार बाराको जीतपुरमा आयोजीत एक कार्यक्रममा मतदाताले सोधेको प्रश्नको जवाफ दिने क्रममा सहभागीलाई भाडाको टट्टू भनेपछी पूर्वमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका नेता श्रेष्ठ विवादमा तानिएका हुन् ।
सहभागीले सोधेको प्रश्नको जवाफ दिने क्रममा होहल्ला भएपछी श्रेष्ठले आक्रोशित हुँदै “चर्को स्वर गर्दैमा किसान श्रेष्ठ डराउछ भन्ने सोच्नु भयो ? प्रश्न सोधेपछी उत्तर दिन दिनुस न । साला भाडाको टट्टूहरु” भनेका थिए । श्रेष्ठले उक्त अभिव्यक्ति दिएलगत्तै सहभागीले उनको बिरोध गरेका थिए । विरोध भए पश्चात उनलाई निर्वाचन जित्न निकै कठिन हुने आंकलन हुन थालेको छ ।
मतदातालाई खुसी बनाएर भोट लिनुको सट्टा मतदाताहरुलाई नै गाली गर्नमा उत्रेपछि उनी कसरी जित्लान त ? प्रश्न खडा भएको छ । “तनँहु जिल्लाबाट बारा आएर निर्वाचन लडदै गरेका उम्मेदवारले जनताको जिज्ञासाको जवाफ दिने कि यहाँका नागरिकलाई गाली दिदै भाडाको टट्टूहरु भन्ने ?” कार्यक्रममा सहभागी रामजनम साहले प्रश्न गरे ।
यो त यस क्षेत्रका नागरिकमाथिको अपमान हो, उम्मेदवारले यसरी भन्न पाइदैन भन्दै स्थानियहरुले विरोध जनाएका थिए । सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रेष्ठसहित नेकपा एमालेका उम्मेदवार एकबाल मिया, स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्ले लगायतको सहभागिता रहेको थियो । उम्मेदवार संगको प्रश्नोत्तर कार्यक्रममा बारा क्षेत्र नं. ४ का उल्लेखनिय मतदाताहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमका सहभागीले उम्मेदवारलाई क्षेत्रको बिकासका लागि आगामी योजनाको विषयमा प्रश्न राख्ने क्रममा श्रेष्ठले सो शब्द प्रयोग गरेका हुन् । श्रेष्ठको यो पहिलो पल्ट विवादमा तानिएका होईनन्, यस भन्दा पहिला पनि गत असोज ३० गते निर्वाचन आचारसंहिता विपरीत परवानीपुरमा आफ्नो चुनावी ब्यानर मुनि फ्री भिसा फ्री टिकट भन्दै अन्तर्वार्ता राखेपछि विवादमा परेका थिए ।
म्यानपावरको प्रयोग गर्दै र आफ्नो पार्टी र पावरको दुरुपयोग गर्दै मतदाता प्रभावित पार्ने काम गरेको भन्दै निर्वाचन आयोगले श्रेष्ठलाई स्पष्टीकरण समेत सोधिसकेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend