साझा नेटवर्क
गुल्मी, असोज ३० ।
गुल्मीमा आइतवार एकैदिन दुई वृद्धले नागरिकता र राहदानी बनाएका छन । मदाने गाउँपालिका १ का चित्रबहादुर बोहोराले नागरिकता र मुसिकोट नगरपालिका १ का दिनामणि अर्यालले जिल्ला प्रशासन कार्यालयबाट राहदानी बनाएका हुन ।
नागरिकता बनाउनका लागि मदाने गाउँपालिका १ का वडाध्यक्ष सुशील चन्दले बाेहाेरालाई आफ्नै खर्चमा सदरमुकाम तम्घास पुर्याएका हुन । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको उपस्थितिमा प्रशासकीय अधिकृत ज्ञानकुमारी भुसालले ७२ वर्षीय बोहोरालाई नागरिकता प्रदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।
नागरिकता हात पारेपछि बोहोराले खुसी हुँदै वडाध्यक्ष र प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद दिए । उनले आजसम्म काम नपरेको हुँदा नागरिकता नबनाएको भन्दै बुढेसकालमा सामाजिक सुरक्षा भत्ता खानका लागि नागरिकता बनाउन आएको प्रतिक्रिया दिए ।
त्यस्तै आइतवार नै जिल्ला प्रशासन कार्यालयबाट ८० वर्षका दिनामणि अर्यालले पनि राहदानीका लागि फाराम भरेका छन । उनले बुढेसकालमा भए पनि अस्ट्रेलियामा रहेकी नातिनीले घुम्न बोलाएको हुँदा श्रीमतीसहित विदेश जानका लागि राहदानी बनाउन आएको जानकारी दिए । उज्यालो
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend