साझा नेटवर्क
वीरगंज, असाेज ९ ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले माइस्थान मन्दिर क्षेत्रको सौन्दर्यकरणको निरीक्षण गर्दै बाँकी काम तत्काल सक्न निर्देशन दिएका छन् । एक साताको मलेसिया भ्रमणबाट आइतबार दिउँसो मात्रै वीरगञ्ज आइपुगेका उनी सोझै माइस्थान क्षेत्रको निरीक्षणमा पुगेका थिए ।
सोमबारदेखि बडा दशैँ शुभारम्भ हुने भएकाले मन्दिर सौन्दर्यकरणका लागि भइरहेको निर्माणको काम तत्काल सक्न निर्माणकर्तालाई निर्देशन दिएका हुन् । वीरगञ्जलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्न माइस्थान मन्दिर क्षेत्रको सौन्दर्यकरण गरिएको भन्दै उनले यस पटक भक्तजनले सहजताका साथ मन्दिर दर्शन गर्न पाउने उनले बताए ।
मन्दिर क्षेत्रमा रहेका घरमा टांगिएका च्यातिएका ब्यानर र फुटपाथमा राखिएकासामन हटाएर मन्दिर क्षेत्र सफा बनाउन पनि नगर प्रहरीलाई उनले निर्देशन दिए । ‘फुटपाथ र नाला मिचेर राखेका सामान हटाउन निर्देशन दिँदै नगर प्रहरीलाई मेयर सिंहले भने, ‘आतंक मच्चाउने गरि नभए सम्झाएर हटाउन लगउनु ।’
महानगरपलिकाले ८५ लाखको लागतमा माइस्थान अगाडिको सडकका साथै मन्दिरको दायाँबायाँ दुबै तर्फको सडकमा युरोपियन स्टाण्डर्डको पेभर्स लगाएर सौन्दर्यकरण गरिएको छ । पेभर्स लगाउने कम सकिएको र नालाको थोरै काम मात्रै बाँकी रहेकाले रातभरमा काम सम्पन्न गराउने गरि आफूहरु खटिरहेको निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनिले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend