साझा नेटवर्क
काठमाडौं २८ भदौ । ‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको डेनभर कोलोराडोमा आयोजना हुने भएको छ ।
नेपाल अमेरिका सम्बन्धको ७५औं बार्षिकोत्सबको उपलक्ष्यमा सन् २०२२ अक्टोबर १३,१४ र १५ तारिखमा अवार्ड आयोजना हुने जानकारी ‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ का अध्यक्ष नबराज श्रेष्ठले गराएका छन् ।
अवार्ड कार्यक्रममा १३ र १४ तारिख नेपाली चलचित्रलाई विश्वसामु परिचित गराउने उदेश्यले फिल्म फेस्टिवल हुने तथा १४ तारिखमा अमेरिकामा नेपाली चलचित्रको सम्भावनाको बारेमा अन्तरक्रिया कार्यक्रम र १५ तारिखका दिन अवार्ड वितरण कार्यक्रम हुने अध्यक्ष श्रेष्ठले जानकारी गराएका छन्। एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रयोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्योरेन्स कम्पनिको सह प्रयोजनमा नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एल.एल.सीले संयुक्त रुपमा ‘पाँचौ ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना गर्न लागेका हुन् । अवार्डका अघिल्ला चार संस्करण कोलोराडो र सनफ्रान्सिस्कोमा भएका थिए ।
कोरोना महामारीका कारण सन् २०२० र २०२१ मा अवार्ड आयोजना हुन सकेन । अवार्ड कार्यक्रममा नेपाली फिल्म र फिल्मकर्मीलाई सम्मानसहित अमेरिकामा रहेका नेपाली चलचित्रकर्मीलाई प्रोत्साहन समेत गरिने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले जानकारी गराएका छन् ।
अवार्ड आयोजनाको उद्देश्य विदेशमा नेपाली फिल्मको प्रबर्धन गर्नु रहेको ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिकाका अध्यक्ष नवराज श्रेष्ठले बताए । ‘नेपाललाई फिल्म टुरिजमको हब बनाउन अवार्डले भूमिका खेल्नेछ,’ उनले भने ।
नेपाललाई विदेशी चलचित्रकर्मीमाझ फिल्म सुटिङको सुन्दर गन्तव्यको रुपमा चिनाउन पनि यसले मद्दत गर्ने गोल्डेन स्टेट मुभी मेकरका यज्ञलाल श्रेष्ठले बताएका छन् भने सकेसम्म हलिउड फिल्ममेकरलाई नेपालमा निम्ताएर कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको पनि श्रेष्ठले जानकारी गराए।
अवार्ड कार्यक्रममा भुटानी चलचित्रहरुलाइ समेत समाबेश गराउने अर्का आयोजक ८८४८ मिडिया हाउस एल एल सीका अध्यक्ष तथा निर्देशक नारायण पुरीले बताए । नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरुको पूर्नमिलन गराउने र नेपाललाई विदेशीमाझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रुपमा प्रचार गर्नु पनि अवार्डको उद्देश्य रहेको पुरीले जानकारी दिएका छन् ।
‘यो अवार्डको उद्देश्य विदेशमा नेपाली चलचित्रको प्रबर्धन गर्नु हो। नेपाली चलचित्रको सफलता विदेशमा गएर मनाउनका लागि हो । अमेरिकामा नेपालबाट धेरै कलाकारहरु पुगेका छन्, उनीहरुसँग पूर्नमिलन गर्नु पनि अवार्डको उद्देश्य हो । नेपाललाई चलचित्र टुरिजमको हब बनाउनु पनि अवार्डको उद्देश्य हो । हामीले पैसा कमाउनका लागि अवार्ड गरेका होइनौं,’ अध्यक्ष मल्लले भने । संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारहरुलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाइ संसारभर परिचित गराउने उदेश्य रहेको उनले बताए।
अवार्ड र फिल्म फेस्टिवलका लागि छनौट समिति गठन भईसकेको र चाडैंनै अवार्डको सम्पूर्ण जानकारी प्रेस बिज्ञप्ति मार्फत ल्याउने तथा नेपाल बाट अवार्ड कार्यक्रममा सहभागी हुने कलाकार तथा फिल्म फेस्टिवलमा समाबेस हुने चलचित्रहरुको जानकारी केहि दिनमा गराउने अवार्डका नेपाल संयोजक मदु कुमार श्रेष्ठले जानकारी गराएका छन्।
यस अघि पत्रकार सम्मेलन मार्फत अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा अवार्ड आयोजना गरिने भनेकोमा बिबिध प्राबिधिक कारणले गर्दा अवार्डको मिति र स्थान परिबर्तन भएको जानकारी ग्लोबल नेपाली फिल्म अवार्डका प्रेस संयोजक सुर्य चन्दले गराएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend