साझा नेटवर्क
साझा नेटवर्क, कतार भदौ २५ ।
अर्घाखाँची सेवा समाज कतारको पाँचौं अधिवेशन सम्पन्न भएको छ । समाजका अध्यक्ष टेकराज थापाको सभापतित्व तथा नेपाली राजदूतावास कतारका श्रम सहचारी कृष्णप्रसाद खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले विष्णु बहादुर कुँवरको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा बलाराम पाण्डे, द्वितीय उपाध्यक्षमा नेत्र प्रसाद आचार्य, महासचिवमा अनिल परियार, सचिवमा तिलक घिमिरे, कोषाध्यक्षमा शोभाखर भुसाल, सह–कोषाध्यक्षमा कृष्ण बस्नेतलाई चयन गरेको छ । त्यसै गरी कार्यसमितिका सदस्यहरूमा अनमोल परियार, शोभाखर क्षेत्री, परशुराम बेल्बासे, नारायण घिमिरे, गणेश गैरे, गोपाल बेल्बासे, जनक खड्का, बाबुराम खड्का, तिलक राम भुसाल, मधु अधिकारी रहेका छन् । नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक केदार भुसालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले आफू पनि अर्घाखाँचीकै भएको, कतारमा नियोगमा रहेर कार्यसम्पादन गरी रहँदा र घरकै कार्यक्रममा जोडिन पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । उनले कतार कर्मथलो भएको बताउँदै काम गर्दै समाजसेवा गर्नु आफैमा चुनौती र पुण्यको काम रहेको बताए ।
अधिवेशनमा एनआरएनए आइसिसीका विभिन्न तह तप्काका पदाधिकारीहरू, एनआरएनए एनसिसी, कतारमा स्थापित विभिन्न वैचारिक सङ्घ संस्था, सामाजिक, सामुदायिक, जातीय संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियन्ता, बुद्धिजीवी लगायत थुप्रै जिल्लावासीहरूको उपस्थिति रहेको थियो । खुल्ला सत्रमा नेपाली दूतावास कतारका द्वितीय सचिव प्रवीण भट्टराई एनआरएनए आइसिसीका विभिन्न पदाधिकारी, विभिन्न वैचारिक सङ्गठन प्रमुख, एनआरएनए एनसिसि कतारका अध्यक्ष लगायत धेरैले शुभकामना मन्तव्य राखेका थिए ।
समाजले प्रमुख अतिथि, विशिष्ट व्यक्तित्वहरू, विभिन्न सहयोगी संस्थाहरूलाई सम्मानसमेत गरेको थियो । अधिवेशनमा सन्ध्या अर्यालले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् । उपस्थितलाई आफ्नो प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गर्ने कलाकारहरू शान्ति ओली, रेबीका तामाङ र सुरेश बिसीलाई नगदसहित सम्मान गरिएको थियो । साझा नेटवर्कका प्रधान सम्पादक कुमार अविरल सहित करिव आधा दर्जन पत्रकारहरू सम्मानित भएका थिए ।
अधिवेशनको खुल्ला सत्रलाई समापन गर्दै सभापति थापाले आफ्नो कार्यकाल भरी संस्थागत सहयोग, सहकार्य गर्ने, आफूलाई मार्ग निर्देशन गर्ने र अधिवेशन सम्पन्न गर्ने अवधीसम्म सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए । प्रथम उपाध्यक्ष विष्णु बहादुर कुँवरले स्वागत मन्तव्य राखेको अधिवेशनको खुल्ला सत्रलाई महासचिव बालाराम पाण्डे र सचिव अनिल परियारले सहजिकरण गरेका थिए । सचिव परियारले समाजले गरेका कार्यप्रगती विवरण समेत पेश गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend