logo
  • शनिबार, साउन ३० २०८३

जसले कार्यालय समेत नबनाई कार्यकाल सकाए


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

हुमाकान्त पोखरेल
गुल्मी, ०४ साउन ।

गुल्मीको इस्मा गाउँपालिका, पालिका केन्द्रको विषयमा सबैभन्दा बढी विवाद हुने स्थानीय तह हो । गाउँपालिकाले अघिल्ला जनप्रतिनिधिको पहिलो कार्यकालको अन्तिममा पालिका केन्द्र वडा नम्बर ५ रजस्थलको रातापोखरा हुने गरी टुंगो लगायो । तर तोकिएको पालिका केन्द्रबिरुद्ध वडा नम्बर १ र २ का तत्कालिन वडाध्यक्षले सर्वोच्चमा मुद्धा दिए । जसका कारण लक्षमण विष्ट नेतृत्वको जनप्रतिनिधिको पहिलो समुह पालिका केन्द्र समेत टुंगाउने काममा असक्षम भयो । अहिले रजस्थल दोबाटमा एक व्यक्तिको घरमा महङ्गो भाडा तिरेर पालिकाको कार्यालय संचालन गरिएको छ । गाउँपालिकामा अहिले काँग्रेसका भगत सिंह खड्काको नेतृत्वमा जनप्रनिधि छन् । तर खड्काको यो पाँच बर्षे कार्यकालमा पनि केन्द्रको विवाद टुंगिने तथा नयाँ संरचना बन्ने कुनै निधो छैन । पालिका उपाध्यक्ष एवम् प्रवक्ता पार्वती कुँवरले वडा नम्बर १ र २ का निवर्तमान वडाध्यक्षहरुले सर्वोच्चमा दिएको रिट विचाराधिन रहेको बताइन् । सर्वोच्चबाट कुनै आदेश नआउञ्जेलसम्म अस्थायी केन्द्रबाटै कामकाग गर्ने कुँवरले बताइन् । आफुहरु सर्वोच्चकै आदेशको पर्खाइमा रहेको उनको भनाई छ ।

मालिका गाउँपालिका केन्द्रको बिषयमा अदालतमा दुईपटक मुद्धा प¥यो । कार्यालय स्थापना हुँदा निर्वतमान पालिका अध्यक्ष रित बहादुर थापा नेतृत्वको जनप्रतिनिधिको समुहले अर्खबाङ्गमा एक महिला समुहको भवनमा कार्यालय संचालन गरेको थियो । पछि अस्थायी कार्यालय बनाएर गाउँपालिकाले काम संचालन ग¥यो । अहिले संचालन भइरहेको अस्थायी संरचना बन्न नदिनको लागि हालकै उपाध्यक्ष उपेन्द्र अर्यालसहितको समुहले उच्च अदालतमा मुद्धा दिए । उच्च अदालतले टहरो बनाउन हुने भनेर आदेश दियो । संयोग नै मान्नुपर्छ, जसले सोही ठाउँमा अस्थायी टहरा बन्नुहुँदैन भनेर उजुरी दिएका थिए, उनै व्यक्ति अहिले उपाध्यक्षको रुपमा सोही कार्यालयबाटै आफ्नो काम गरेका छन् । पालिकाको प्रशासकीय भवन बनाउनको लागि अर्खबाङ्गमै जग्गा प्राप्ति पश्चात टेन्डर समेत भयो । तर त्यसविरुद्ध पनि स्थानीयले मुद्धा दिए । अहिले भवन निर्माणको काम र अदालमा मुद्धा दुवै चलेको पालिकाका निर्वतमान प्रवत्ता शोभाखर गिरीले बताए ।

क्याम्पसमा सरकारको कार्यालय

चन्द्रकोट गाउँपालिकाको कार्यालय चन्द्रकोट बहुमुखी क्याम्पसबाट संचालन गरिएको छ । स्थापनाकालमा एकजना निजी व्यक्तिको घरबाट कार्यालय सचालन गरेको चन्द्रकोटले केही समयपछि क्याम्पसमा कार्यालय सा¥यो । अहिले क्याम्पसको एउटा भवन भाडामा लिई चन्द्रकोटले कार्यालय संचालन गरिरहेको छ । निर्वतमान अध्यक्ष दोर्ण बहादुर खत्री नेतृत्वको जनप्रतिनिधिको पाँच बर्षे कार्यकाल आफ्नै कार्यालय नबनाई कट्यो । गाउँपालिकाका प्रवक्ता घनश्याम खरेलका अनुसार अहिले पालिकाको नयाँ भवन बन्दै छ । वडा नम्बर ४ शान्तिपुरमै पालिकाको सभाहल भएपनि प्रशासनकीय भवनको भने अझै १० प्रतिशत पनि काम भएको छैन । तर युवराज केसी नेतृत्वको जनप्रतिनिधिको समुहले भने नयाँ कार्यालयबाटै सेवा दिने खरेलको भनाई छ ।

निजि व्यक्तिको घरमा कार्यालय

कालिगण्डकी गाउँपालिकाको कार्यालय स्थापना कालदेखि नै व्यक्तिको घरबाट संचालन हुँदै आएको छ । वेद बहादुर थापा दोस्रो कार्यकालका लागि पालिका अध्यक्षमा दोहोरिएका छन् । तर पालिकाको आफ्नै भवन बनाउनेबारे भने उनले केही पनि सोचेका छैनन् । पहिलो कार्यकाल जग्गा व्यवस्थापनमै बिताएका थापाको दोस्रो कार्यकालमा पनि भवन बन्ने कुनै छाट छैन । प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जग्गाको व्यवस्थापन भएपनि भवन बन्न सुरु नभएको बताए । ‘जग्गाको टुंगो लगाएका छौ, बजेट माग्ने तयारी छ ।’ उनले भने ।

गुल्मीदरबार गाउँपालिकाको कार्यालय पनि भाडाकै घरबाट संचालन भइरहेको छ । स्थापना हुँदादेखि नै भाडाको घर लिएको कार्यालयले अहिले पनि उक्त घर छोड्न सकेको छैन । पालिका अध्यक्ष अशोक थापाको कार्यकाल सकिन छ महिना बाँकी छदैँ मृत्यु भयो । अहिले उनैका छोरा सरोज थापा पालिका अध्यक्ष छन् । तर सरोजको कार्यकालमा पनि आफ्नै कार्यालय बन्ने कुनै छाटकाट छैन । ‘अहिले जग्गाको डिपिआरको तयारी गर्दै छौ, यो आर्थिक बर्षमा जग्गा व्यवस्थापन गर्नुपर्ला ।’ अध्यक्ष थापाले भने, ‘जग्गा व्यवस्थापन गरेपछि केन्द्रले बजेट देला ।’ थापाले आफ्नै कार्यकालमा नयाँ भवन बनाउने प्रतिवद्धता जायर गरे ।

मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा पनि नगरपालिकाको आफ्नै कार्यालय नबनाई बिदा भए । उनको कार्यकालमा नयाँ कार्यालयको लागि जग्गा व्यवस्थापन, टेन्टर हुँदै अधिकाशं काम सकियो । तर काम सम्पन्न गर्ने जिम्मा जीवन खरेल नेतृत्वको नयाँ जनप्रतिनिधिको समुहले पाएको छ । नवनिर्वाचित मेयर जिवन खरेलले यो आर्थिक बर्षमा काम सकिने र त्यसपछि नयाँ भवनमा सर्ने प्रतिक्रिया दिए । आठ करोडमा मुसिकोटको नयाँ प्रशासकीय भवन बन्दैछ । अहिले स्थापना कालदेखिकै एक व्यक्तिको घरबाट कार्यालय संचालन भइरहेको छ ।

जसले अस्थायी टहरा बनाएर काम चलाएका छन्

सत्यवती गाउँपालिकाले अस्थायी टहरा बनाएर पालिकाको कार्यालय संचालन गरेको छ । वडा नम्बर ७ जोहाङ्गमा पालिकाले टहरो बनाएर काम गरेको अध्यक्ष टिकाराम पाण्डेले जानकारी दिए । निवर्तमान अध्यक्ष पारिश्वर ढकाल नेतृत्वको पालिकाले गुठीको जग्गा किनेर रकम बुझाएपनि पालिकाको नाममा जग्गा पास गर्न समेत सकेन । जसका कारण अस्थायी टहराबाट पालिकाका काम संचालन भएका छन् । अध्यक्ष पाण्डेले आफुहरु अहिले जग्गा नामसारी गर्नेतर्फ लागेको बताउछन् । ‘गुठीको जग्गा पास गर्न झन्झट हुँदोरहेछ ।’ उनले भने, ‘जग्गा नामसारी गरेपछि प्रशासकीय भवनको लागि टेन्डर आह्वान गर्ने हो ।’

रुरुक्षेत्र गाउँपालिकाले कार्यालय स्थापना हुँदा हाटबजारको लागि बनाइएको भवनबाट कार्यालय संचालन गरेको थियो । केही समयपछि वडा नम्बर ४ को कार्यालय निर्माण ग¥यो । अहिल सोही वडा कार्यालयबाट प्रशासनीक काम गरेको प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले जानकारी दिए । ४ नम्बरको वडा कार्यालय भने पुरानो ठाउँमा राखिएको छ । वडा कार्यालय भनेर बनाएपनि पालिकाको कामकाज गरिएको छ । प्रथम पालिका अध्यक्ष निलकण्ठ गौतमले पालिकाको प्रशासकीय भवनको जग्गा छनोट गरी काम समेत अगाडी बढाए । तर कार्यकाल छदै काम नसक्दा पुरानै कार्यालयबाट उनी बिदा भएका छन् । छ करोडभन्दा बढीको सम्झौतामा बन्दै गरेको नयाँ भवन बनाइसक्नुपर्ने समय ०८१ सम्म छ । अहिले गाउँपालिकाका शिक्षा र स्वास्थ्य शाखा भने भाडामै छन् ।

छत्रकोट गाउँपालिकाका निवर्तमान अध्यक्ष मधुकृष्ण पन्थ गाउँपालिकाको भवन बनाउने ठाउँ नै टुंगो लगाउन नसकी बिदा भए । अहिले रामप्रसाद पाण्डे नेतृत्वको समुहले पालिकाको नेतृत्व गरेको छ । तर अबको पाँच बर्षसम्म पनि प्रशासकीय भवन सम्म बन्ने कुराको कुनै सुनिश्चितता छैन । अहिले सभाहललाई पार्टेशन गरेर पालिकाले प्रशासनिक काम गर्दै आएको छ । ‘प्रशासकीय भवन बनाउनुपर्ने छ, तर ठाउँ यकिन नभएकोले रोकिएको हो ।’ अध्यक्ष पाण्डेले भने, ‘चोयघा क्षेत्रभित्र बन्ने भन्ने कुरा छ ।’

मदाने गाउँपालिकाले पनि वडा कार्यालयको भवनबाट सेवा संचालन गरिरहेको छ । ६ नम्बर वडाको लागि बनेको भवनमा गाउँपालिको कार्यालय राखिएको छ । वडा कार्यालय भने पुरानो गाविस भवनबाट संचालन गरिएको सुचना अधिकारी ऋषी पोख्रेलले बताए । निवर्तमान पालिका अध्यक्ष दान बहादुर केसी नेतृत्वको जनप्रतिनिधिको समुहले सुरुमा भाडाको र त्यसपछि वडाकै भवनबाट सेवा दिए । नयाँ जग्गाको व्यवस्थापन गरी ठेक्का सम्झौताको प्रक्रियासम्म पुगे । तर निर्माण सम्पन्न गर्ने जिम्मा भने नयाँ प्रतिनिधिलाई छोडिदिए । अहिले गाउँपालिकाका कुनै पनि कार्यालय भाडामा छैनन तर आफ्नै संरचना पनि छैन । सुचना अधिकारी पोख्रेलले १२ करोडमा पालिकाको नयाँ प्रशासकीय भवन बन्न लागेको प्रतिक्रिया दिए । आगमी आर्थिक बर्षसम्म कामको समयाअवधि रहेको छ । अप्ठ्यारो भुगोल रहेको कारण काममा ढिलाई भएको पोख्रेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend