logo
  • शनिबार, असोज १० २०८३

कुरीति–कुसंस्कार विरुद्ध सरकार–सहकारी साझेदारी


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

सन्तोष महतारा,गुल्मी असार २८ ।

गुल्मीको गुल्मीदरबार गाउँपालिकामा समाजमा विद्यमान कुरीति–कुसंस्कार विरुद्ध सरकार–सहकारी साझेदारी कार्यक्रम गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला प्रहरी कार्यालय गुल्मीको आयोजना तथा गुल्मीदरबार गाउँपालिकाको सहयोग तथा समन्वयमा कुरीति–कुसंस्कार विरुद्ध सरकार–सहकारी साझेदारी कार्यक्रम गरिएको हो ।कार्यक्रममा गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहालले कुरीति र कुसंस्कारको सम्बन्धमा प्रशिक्षण दिएका थिए । गर्नु भनेको काम नगर्नु र नगर्नु भनेको काम गर्नु दुवै अपराध भएको भन्दै प्रहरी उपरीक्षक दाहालले प्रहरीले अपराध हुन नदिनको लागि उपाय अपनाउने र अपराध भइहालेमा कानुनी दायरामा ल्याउने उनले बताए ।

अपराधको सन्दर्भमा गुल्मी जिल्ला अन्य जिल्ला भन्दा धेरै शान्त जिल्ला रहेको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताए । ’तुलानात्मक रुपमा अनेत्र भन्दा गुल्मीमा अपराधका घटना धेरै कम छन् ।’ प्रशिक्षण दिदै प्रहरी प्रमुख दाहालले भने, “विभिन्न अपराधजन्य क्रियाकलापको कानुनी व्यवस्था सम्बन्धमा सबैलाई चेतना हुन जरुरी छ ।“ अपराधीक क्रियाकलापको कानुनी व्यवस्थाबारे सबैलाई जानकारी गराएमा घटनाहरु कम हुने उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले कुरीति–कुसंस्कार विरुद्ध लागेर गुल्मीदरबारलाई सबल र समुन्नत बनाउनेतर्फ लैजाने बताए । ’समाजमा रहेका विद्यमान कुरीति–कुसंस्कारहरुलाई निरुत्साहित गर्नका लागि आम गुल्मीदरबारबासी एकजुट हुनु आवश्यक छ ।’ गाउँपालिका अध्यक्ष थापाले भने, “गाउँपालिकालाई सबल र समुन्नत बनाउनका लागि विकास निर्माणका काम मात्र नभई सामाजिक रुपमा संस्कार सहितको समाज निर्माण गर्न आवश्यक छ ।“ नराम्रो संस्कार विरुद्ध सबै एक हुन उनले सबैलाई आग्रह गरे ।

कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले समाजमा विद्यमान कुरीति–कुसंस्कारलाई निरुत्साहित गर्नको लागि दिनुपर्ने ध्यान र वडाबाट नागरिकता सिफारिसमा हुने समस्याको समाधान गर्ने बिषयमा प्रशिक्षण दिएका थिए ।जुन जुन रीति र संस्कार नराम्रा छन् तिनै कुरीति र कुसंस्कार भएको भन्दै प्रमुख जिल्ला अधिकारी पौडेलले कुनै प्रकारको विभेद हुन नहुने बताए ।

कुरीति र कुसंस्कारका कारणले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सबै क्षेत्रमा असहयोग हुने भएकोले सबै मिलेर कुरीति र कुसंस्कारको अन्त्य गर्न आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । ’हरेक नागरिकलाई सकारात्मक सोंचको शिक्षा, नैतिक शिक्षा, माया ममता र आदार सत्कार गर्नुपर्ने कुरामा ध्यान दिनुपर्छ ।’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, “आफ्नो कर्तव्य जानकारी नै नहुने संस्कार समेत अन्त्य गर्न जरुरी छ ।“ परम्परागत रुपमा चलेको व्यवहार मध्ये सकारात्मक व्यवहारहरु विस्तृत बुझ्ने र नकारात्मक व्यवहार तत्काल हटाउनु आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।

समाजमा विद्यमान कुरीति–कुसंस्कार विरुद्ध सरकार–सहकारी साझेदारी कार्यक्रमको संचालन तथा सहजीकरण गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको रहेको थियो । गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षता, गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाको प्रमुख आतिथ्यता, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, गुल्मीका प्रहरी प्रमुख भीमबहादुर दाहाल, गाउँपालिका उपाध्यक्ष तारा थापा, विभिन्न सहकारीका प्रमुख तथा प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend