logo
  • शनिबार, असोज १० २०८३

खानीगाउँमा “स्वास्थ्य सेवा केन्द्र”को स्थापना


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल, गुल्मी असार १२ ।
रेसुङ्गा नगरपालिका –८ खानीगाउँमा ‘खानिगाउँ स्वास्थ्य सेवा केन्द्र’ स्थापना भएको छ । केन्द्रको आइतबार रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले उद्घाटन गरे । रेसुङ्गा नगरपालिकाको वडा नम्बर ८ मै गुल्मी अस्पताल भएकोले त्यस वडामा अहिलेसम्म एउटा पनि स्वास्थ्य केन्द्र थिएन ।
राज्यले कम्तिमा ‘एक वडा–एक स्वास्थ्य केन्द्र’ को नीति लिएपछि आफुहरुले केन्द्रको स्थापना गरेको वडासदस्य कृष्ण प्रसाद भण्डारीले जानकारी दिए । खानीगाउँमा स्थापना गरिएको केन्द्रबाट खोप संचालन, गर्भवती जाँच, सामान्य ज्वरो, रुघा लागेको जस्ता प्राथमिक उपचार एवम् बहिरङ्ग सेवा समेत संचालन हुने स्वास्थ्य कार्यालय, गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिए ।

केन्द्रबाट नगरपालिकामै पहिलो पटक कुपोषित बालबालिकाहरुको लागि उपचारको व्यवस्था समेत गरिएको छ । यो सँगै अब कुपोषित बालबालिकाहरुको उपचारका लागि बुटबल जानुपर्ने बाध्यताको कमी भएको छ । केन्द्रमा तीन जनाको दरबन्दी भएपनि हाल एकजना मात्रै कार्यरत छन् ।

केही दिनभित्रै थप दुईजना स्वास्थ्यकर्मी थपिने स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यक्रममा बोल्दै मेयर पन्थीले सबैभन्दा पहिला नागरिकको स्वास्थ्यमा आमुल परिवर्तन गर्नुपर्ने धारणा राखे । आफु मेयरमा निर्वाचित भइसकेपछि स्वास्थ्यलाई प्राथमिकतामा राखेको भन्दै उनले ‘गुल्मी अस्पताल, मेरो अस्पताल’ अभियानको सुरु गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend