logo
  • शनिबार, साउन ३० २०८३

राजनीतिक विकृती माथी रवीको हस्तक्षेप


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

-सरोज न्यौपाने ।
आक्रामक पत्रकारिता मार्फत लोकप्रियताको चरम चुलीमा पुगेका रवी लामिछाने औपचारिक रूपमा राजनीतिमा आएका छन् । उनले अघि सारेका तर्क मान्ने हो भने राजनीति नसुधि्रएको र नेतृत्वको कार्यशैली नसच्चिएकोले राजनीतिमा आउनुपर्‍यो ! राजनीतिमा आउँदा-आउँदै बोलेको यति कुरा चाहिँ सत्य हो उनको ।
मौजुदा दलहरूले निकास दिन नसकेकोले यिनीहरूको विकल्प खोज्ने समय आएको सत्य हो । म यो सत्यलाई स्वीकार गर्छु !रवीको राजनीतिक भविष्य के हुन्छ, उनले गठन गरेको स्वतन्त्र पार्टी कस्तो बन्छ, जनताका सवालहरूलाई उठान गर्न र सम्बोधन गर्न सक्छ कि सक्दैन, जनताले त्यसलाई अनुमोदन गर्छन् कि गर्दैनन् भन्ने जस्ता तमाम विषयहरू अब परिक्षणको चरणमा छन् ।

यी विषयहरू माथि अनेक ढंगले टिप्पणी गर्न, अनुमान गर्न, विश्लेषण गर्न सकिन्छ । तर, यी सबै विषयमाथि अहिले नै निष्कर्ष निकाल्न, उनी र उनको दलको भविष्य, सफलता र असफलताको भविष्यवाणी गर्नु हतार हुन्छ, गलत हुन्छ ।

मेरो विचारमा देश र जनताको हितमा, तीब्र इच्छाशक्तिका साथ, निष्ठापूर्वक, आफ्नो बर्कतले भ्याएसम्म उनले जेजति विषयहरू अगाडि सारे, त्यसलाई गलत करार गर्ने कुरा जायज हुँदैन । निश्चितरूपमा, रवीले राजनीतिमा आउने घोषणा गर्दैगर्दा दल गठनको प्रक्रिया, त्यसको संरचना, विचारधाराको प्रश्न, त्यसको निति तथा कार्यक्रम, रणनीतिक र कार्यनीतिक कार्यक्रम र सवालहरूमा कमिहरू देखिए, यसलाई कसैगरी पनि पूर्ण मान्न सकिन्न ।

तर, उनलेे नितिमा भन्दा बढी कार्यक्रम, धन्दामा भन्दा बढी कर्ममा, गफमाभन्दा बढी परिणाममा, आश्वासनमाभन्दा बढी प्रतिबद्धतामा जोड दिन खोजेको कुरा चैं प्रष्ट देखियो । साथसाथै, धरातलमा देखिएको अर्को सत्य के पनि हो भने सुशासन र स्वाधीनता सहितको समृद्धिको लागि नागरिकको तहबाट गरिने अपेक्षालाई रवीले असल नियतकासाथ उठान गर्न खोजेको देखिन्छ ।

सर्वसाधारण जनताका अपेक्षालाई सहि ढंगले सम्बोधन गर्न आवश्यक दृष्टिकोण, निति तथा कार्यक्रम दिने सन्दर्भमा अपूर्णता र अस्पष्ठताहरू देखिएका छन्, त्यसलाई पूर्णता दिने र स्पष्ट गरेर जान सकेमात्रै रवीले आम जनताको विश्वास जित्न सक्नेछन् । पक्कै पनि यो सजिलो विषय होइन । जोखिम पन्छाउने भन्दा बढी जोखिम उठाउने युवा चाहिएको छ देशलाई । व्यक्तिगत रूपमा रवीमाथि मेरो काफी हदसम्म अपेक्षा छ ।

म केही वर्षदेखि रवी लामिछानेलाई पछ्याउँदै आएको छु । खासगरी आफ्नै पूर्वसहकर्मी ………पुडासैनीको आत्महत्या दुरुत्साहान मुद्दामा रवीलाई चिन्ने र बुझ्ने अवसर प्राप्त भयो ।त्यतिबेला उनीमाथि भएको प्रहार र षड्यन्त्रपछि त मलाई रवी लामिछाने ठीक बाटोमा हिंड्दैछन् भन्ने लाग्न थालेको थियो । News24 को एउटा टेलिभिजन कार्यक्रमदेखि Galaxy 4k सम्म आउँदा टेलिभिजन पत्रकारिता मार्फत आमसर्वसाधारणका गुनासाहरूमाथि उनले देखाएको चासो र संवेदनशीलता प्रशंसा गर्न लायक छ ।

रवीले प्रचलित अभ्यासभन्दा केही भिन्न ढंगले टेलिभिजन कर्म गरेकै कारण आम मान्छेहरूको विश्वास जित्न सफल भएका हुन् । अर्थात्, सयकडौं टेलिभिजन कार्यक्रमको भीडमा आफूलाई अरूभन्दा `अलग र अब्बल´ पुष्टि गर्न रवी सफल भएकै हुन् । राजनीतिमा उनी कहाँसम्म जान्छन्, त्यो भने हेर्न बाँकी नै छ ।

रवीको राजनीतिक प्रदार्पणबाट सशंकित एउटा हिस्सा, जसले उनको राजनीतिक भविष्य असफल हुने ठोकुवा नै गरिसके ! यो तहको अल्पज्ञान र असहिष्णुता राजनीतिक संस्कार भित्र पर्दैन । यो तहको बुझाइ परिवर्तनका लागि ठूलो अवरोध हो । कम्तीमा रवीले राजा बोक्ने घोषणा गरिसकेका छैनन्, निश्चित धर्म बोक्छु भनेका छैनन् ।

सत्य कुरा के हो भने राजनैतिक सुझबुझ, विचारधारा, दृष्टिकोणमा कमि र अपूर्णता हुँदाहुँदै पनि उनले उठाएको विचार युवालाई प्रतिनिधित्व गर्ने, मुलुक र जनताको हित गर्ने भन्ने नै छ। अर्थात्, रवीले गर्ने भनेको राजनीतिले प्रश्चगामी र प्रतिगामी विचारलाई मद्दत गर्ने प्रकारको छैन । यो सकारात्मक छ, जायज छ ।

हामीले हाम्रो राजनीतिको परम्परागत संरचना र गलत अभ्यासलाई बदल्न चाहेको सत्य हो । हामीले हाम्रो राजनीतिमा स्थापित भइसकेको गलत रवैया/आचरण/कार्यशैलीलाई सच्याउन खोजेकै हो । असफल र अदूरदर्शी सिद्ध भइसकेको राजनैतिक नेतृत्वको विकल्प खोजेकै हो ।

यस्तो विशिष्ट परिस्थितिमा कोही मुलुक परिवर्तन र रुपान्तरणमा योगदान गर्छु भनेर आउँछ भने त्यसलाई स्वागत गर्ने नै हो । किन खिसीट्युरी गर्ने ? अब नागरिक आफैं पनि सचेत हुनेबेला आयो । हामीले पुरानो र शास्त्रीय तरिकाले मात्रै सोच्ने हो भने मुलुकको परिवर्तन र रुपान्तरण सम्भव हुँदैन ।

मदन भण्डारीले भनेझैं सिद्धान्तका लागि राजनीति होइन, जीवनका लागि हुनुपर्छ । यो कुरा आज अझबढि सान्दर्भिक हुँदै गएको छ । रवीको उदयले राजनैतिक वृतमा तरंग पैदा गरेको छ । मौजुदा राजनीतिक दलहरूलाई चुनौती थपिदिएको छ । ऐतिहासिक अवसरहरू खेर फाल्ने र जनतामाथि कुठाराघात गर्ने दलहरूको औचित्य समाप्त भएको छ ।

जनताको भोट पाएर जनतामाथि नै ज्यादती गर्ने दलहरू अब किन चाहियो ? यिनीहरू सकिनु नै पर्छ । हुनसक्छ त्यो अवसर र विकल्प दुबै रवी लामिछाने हुन् कि ? शंका सहित विश्वास गरौँ, राजनीति मार्फत उनले राम्रो गरे सहयोग गरौँ, गद्दारी गरे विदा !

राजनैतिक दलका कैयौं नेताहरू रवीका विरुद्ध प्रस्तुत हुन थालेका छन् । यो धेरै नै खुसीको कुरा हो कि राजनैतिक नेतृत्वको उदण्डता र अहंकार आतंकित हुने स्थितिमा पुगेको छ । वर्षौंदेखिको खबरदारीले पनि सुध्रिन र सच्चिन नसकेका दलहरू सकिनु नै पर्छ । अहिलेलाई त्यो ठाउँ रवीहरूले लिन्छन् ।

जनजीविकाका सवालहरूलाई सम्बोधन गर्न सके सत्तामा रहन्छन्, नसके सडकमा फर्किन्छन् । जनतालाई विकल्प चाहिएको बेला म छु, म गर्छु म गर्न सक्छु भन्दै कुनै युवा अगाडि आउँछ भने त्यसलाई स्वागत नै गर्ने हो, हौसला नै दिने हो ।

अन्तमा, राम्रो गर्ने कोशिस गरून्, रवी लामिछाने समूहलाई मेरो सद्भाव छ, शुभकामना छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend