साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं असार ७ ।
पत्रकारिता छोडेर राजनीतिमा आएका रवि लामिछानेले नयाँ दल खोलेका छन्। उनले आफ्नो दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखेका छन्।
मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयजित घोषणा सभामा लामिछानेले नयाँ पार्टीको नाम घोषणा गरेका हुन्।
अहिलेका राजनीतिक दलहरूसँग कुराकानी गरेको भए पनि आफू तिनमा जान नसकेकाले नयाँ पार्टी खोलेको उनले बताए।
पार्टी घोषणा गर्नुअघि उनले आफू व्यवस्था परिवर्तन गर्न नभई जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताए।
तर पार्टी घोषणा गरेपछि उनले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित र मुख्यमन्त्रीको एजेन्डा अघि बढाउने बताए। नेपालमा अहिले संसदीय प्रणाली छ। संघीय सरकारमा प्रतिनिधि सभाबाट प्रधानमन्त्री र प्रदेश सभाबाट मुख्यमन्त्री छानिने संवैधानिक व्यवस्था छ।
लामिछानेले आफ्नो पार्टीलाई युवाको पार्टी बनाउने बताए।
‘म यो पार्टीलाई युवाहरूको पार्टी बनाउने छु,’ उनले भने,‘केन्द्रीय सदस्य ५० प्रतिशत युवा हुनेछन्।’
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend