logo
  • शनिबार, असोज १० २०८३

स्वादिलो आलुले उपभोक्ता दंग, हरियो मकैले किसानमा छर्यो उमंग


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ जेठ १८ ।
गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ८ का किसानहरु आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन्। पहिले परम्परागत खेती गरिरहेका किसानहरु विगत १० वर्ष यता व्यवसायीक आलुखेती गरिरहेका हुन्। परम्परागत रुपमा खेति गर्दै आउनुभएकी माझखर्ककी लक्ष्मी सापकोटा सामुहिक रुपमा खेति गर्न थालेपछि सजिलो भएको बताउनुहुन्छ।
सापकोटाले भन्नुभयो, “तम्घास गएर तालिम लिएपछि १० वर्ष देखि समुहमा आलु खेति गर्दै आएका छौं, समुहमा गर्दा मल राख्दा, पानी राख्दा, विउकिन्दा निकै सजिलो हुन्छ”। तुल्सी सापकोटा पनि सोहि समुहकी सदस्य हुनुहुन्छ, पुरुषहरु गाउँमा भेटिदैन सापकोटाले भन्नुभयो “समुहमा सवै महिला मात्रै सदस्यहरु छौं, समुहमा भएकोले काम गर्न सम्भव भएको छ, आलु वेचेर घरखर्च चलाएका छौं।”
गाउँबाट वस्ती पातलिँदैछ, आमाहरुको मन भने गाउँमै छ, आफै स्वरोजगार पनि बन्नुभएको छ तर बाँदरले चिन्ता थपेको छ। सरस्वती सापकोटाले भन्नुभयो “हामीलाइ सरकारले सहयोग गर्ने हो भने बाँदर लखेटिदिए हुन्थ्यो, बाँदरले साह«ै सताउन थाल्यो।” सन्कोल की पार्वती खरेलले पनि निरन्तर आलुखेती गर्दै आउनुभएको छ, उहाँले आलु वेच्न लागेको १० वर्ष भयो, अहिले पनि व्यक्तिगत रुपमै ५ क्वीन्टल विउ लगाउनुभएको छ, घरबाटै आलु वेचेर गुजरा चलिरहेको छ।
आलु तथा अलैंचि उत्पादक कृषि महिला समुहकी सचिवसमेत रहनुभएकी दिलमाया घर्ति राना ४ वर्ष देखि आलु खेति गरिरहनुभएको छ। उहाँको समुहमा १२ जना सदस्य छन् उहाँहरुले १५ क्वीन्टल विउ लगाउनुभएको छ तर उत्पादन भएको आलुको बजार भने त्यति राम्रो नभएको गुनासो उहाँको छ। उहाँले भन्नुभयो “६ महिना लगाएर घरवाटै आलु वेचेर सक्छौं, एकै पटक बेच्न पाउने हो भने आम्दानी देखिने थियो, घर खर्च महिलाहरुले नै आलुवेचेर चलाएका छौं।”
यसरी आलुको पकेट क्षेत्र बनाएर महिलाहरुलाई उद्यमी बन्न लक्ष्मीनारायण महिला कृषि सहकारीले सघाएको छ। सहकारीले समुह निर्माण गर्नेदेखि तालिम, विउ र बजार सम्मको लागि सहजिकरण गरिरहेको अध्यक्ष यमुना घिमिरेले बताउनु भयो, उहाँले भन्नुभयो “४० जनाको समुहले आलुखेती गर्दै आएका छौं, ५ हेक्टर क्षेत्रफलमा आलु लगाउँदा कृषि ज्ञान केन्द्रले पनि सहयोग गरेको छ, यस वर्षपनि १०० क्वीन्टल आलु लगाइएको छ, ६५ क्वीन्टल विउमा सहकारीले पनि सहयोग गरेको छ।”

वडा नं. ८ भित्र ४ वटा प्लटमा अहिले आलुखेति भैरहेको हो। माझखर्क, रुक्से, वामी र सन्कोललाई आलु पकेटको रुपमा विकास गरि खेति गरिरहेको सहकारीले जनाएको छ। सहकारीका ५ सय २२ जना सदस्य मध्ये अमृतपुर आलु तथा अलैंचि उत्पादक कृषि समुहमा ४० जना सदस्य आवद्ध भई सामुहिक आलु खेति गरिरहेका छन्।

जेठमा उत्पादन हुने आलु वेमौसमको भएकोले निकै स्वादिलो हुने उपभोक्ताले बताउँछन्। बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङ का यदुमणि खरेलले भन्नुभयो “आगोपार्नेको आलु निकै स्वादीलो छ, अन्य क्षेत्रको भन्दा सस्तो पनि र स्वादीलो पनि भएकोले सोहि आलु उपभोग गर्दै आएका छौं। ”लक्ष्मीनारायण महिला कृषि सहकारीले आलु मात्रै होइन वेमौसमि मकै खेतीमा पनि काम गर्दै आएको छ। मुसिकोट नगरपालिका वडा नं. ७ को न्वारमा २० रोपनी क्षेत्रफलमा वेमौसमी मकै उत्पादन भएको छ।

प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना अन्तरगत मकै जोन को सहयोगमा गत वर्षदेखि मकै पर्दशन कार्यक्रम अनुसार मकै खेति गरिएको हो। मकैको विउ, मल र प्रविधिमा मकै जोन संगै सहकारीले पनि सहकार्य गरेको छ। अनुदानमा ५० प्रतिशत मकै जोन र २५ प्रतिशत सहकारीले सहयोग गरेको छ। रामपुर १० नामको मकै उत्पादन गरि बजारमा वितरण समेत भएको छ।मकै खेति गरिरहनुभएका न्वार सुदीका शेसकान्त अर्यालले भन्नभयो “हामिलाइ त पहिलो प्रयोग थियो, हरियो मकै वेच्ने कुरा तर गज्जव हुँदो रहेछ, अघिल्लो वर्षपनि राम्रै बेचियो, यो वर्षपनि हरियो मकै वेच्दा राम्रै भयो।

” वडा नं. ७ को न्वारसुदि क्षेत्रमा सात जना कृषकहरुको समुहमा मकै खेति गरिएको छ, नयाँ प्रयोग सहित चैत्र, बैसाख र जेठमा हरियो मकै बजारमा पठाउन पाउँदा सहकारी पनि सफल भएको छ। अध्यक्ष घिमिरेले भन्नभयो “सुरुमा त फल्ने हो कि होइन भनेर डर लागिरहेको थियो, पछि राम्रो फल्यो, प्रयोग सफल भयो, खुसि छौं, हरियो मकैवाट किसानले ५ लाख भन्दा वढि आम्दानी गर्नुभएको छ ।

मुसिकोट नगरपालिकाले पनि किसानहरुलाई प्रोत्साहनका कार्यक्रम संचालन गर्दै आएको छ। विउ, प्रविधि र मलमा सहयोग गरिरहेको नगरपालिकाले अव वजारको पनि ग्यारेन्टी गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend