logo
  • शनिबार, साउन ३० २०८३

राजनीतिमा युवा सहभागिता र चुनौती


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टिकाराम बास्तोला ।

हाम्रोमा भनिने र गरिने बीच धेरै भिन्नता देखिन्छ । बोल्दा युवा चाहिन्छ भन्ने, तर व्यवहारमा युवालाई पछाडी पर्ने परिपाटी राजनीतिक वृत्तमा सहजै देखिन्छ । युवाहरूले मूलधारमा आउन अनेकौँ चुनौती सामना गर्नुपरेको छ । एक त आलोचनात्मक चेतलाई अस्वीकार गर्ने प्रवृत्ति हाबी छ । जसले समर्थक मात्र थप्न चाहन्छ, नेता जन्माउन चाहँदैन । विचार, विमर्श र बहसबाट टाढा भाग्छ । उसलाई पण्डित्याइँ ठान्छ । यो बिल्कुल युवाविरोधी चिन्तन हो । अर्को, समयले कोल्टे फेरिसक्दा पनि पुरानै ढर्राको विशेषतामा रमाउँछ ।गतिशीलता, सिर्जनशीलता र युगसापेक्षतालाई अँगाल्न सक्दैन अर्थात् पुरातन मनोविज्ञान कायम राखिरहन्छ । त्यसैगरी तेस्रो पाटोबाट हेर्दा युवाहरू स्वयंको योग्यता, क्षमता र निखरतामा समस्या छ । अमुक मान्छेको फुर्को समातेर नेता भइन्छ भन्ने परजीवी मानसिकताले केहीलाई नराम्रोसँग गाँजेको छ ।

योभन्दा अलि भिन्न धारबाट नियाल्दा समाज र देशबारे सोचेर भुमरीमा पस्नुभन्दा ‘पैसा कमाऊ, परिवार पाल, घर बनाऊ, गाडी किन र मोजमस्ती गर’को सजिलो बाटो अधिकांश युवाले छनोट गरेको देखिन्छ । यसर्थ, लाहुरे र लौरे चिन्तन नै युवालाई राजनीतिमा स्थापित हुन रोक्ने मुख्य पर्खाल हुन् । यस्ता कोर्सलाई बदल्ने चुनौती नै आजको मुख्य कार्यभार हो ।

नेपालको सन्दर्भमा राजनीतिमा युवा सहभागिताका कैयौँ सकारात्मक पक्ष पनि छन् । सबैजसो राजनीतिक दलका शीर्ष नेताहरू विगतमा युवा र विद्यार्थी संगठनको नेतृत्वमा रहिआएको पंक्ति नै छ । उनीहरूले निर्माण गरेको व्यक्तित्वको जग नै युवा तथा विद्यार्थी आन्दोलन हो । त्यसैगरी संविधानसभाका दुवै खण्डहरूमा युवा सांसदहरूको प्रतिनिधित्व ज्यादै उत्साहजनक थियो ।

समावेशिता र युवा सहभागिताको दृष्टिले यो एक नमुना नै हो । यही कारण नयाँ संविधानमा युवाका मुद्दा भरपुर तवरले समावेश भएका पनि छन् । देशलाई समृद्धिको मार्गमा लैजान र त्यसमा लाखौँ युवालाई प्रत्यक्ष जोड्न यसको पूर्ण कार्यान्वयन अति आवश्यक छ । युवालाई खासै नचिन्ने विगतको चित्र बदल्न राज्यस्तरबाट गरिएका कोसिस सकारात्मक त छन्, तर पर्याप्त भने छैनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend