साझा नेटवर्क
तिलु शर्मा पौडेल, कतार वैशाख १० ।
नेपाली जनसम्पर्क समिति कतारले नयाँ वर्ष २०७९ तथा इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमदानको अवसर पारेर शुभकामना आदान-प्रदान तथा बृहत् इफ्तार कार्यक्रम” सम्पन्न गरेको छ । कार्यक्रम समितिका सभापति मोहमद अजिज अलीको सभापतित्व तथा नेपाली राजदूतावास कतारका द्वितीय सचिव प्रविण भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन कुरान तिलावात (मौलाना जनाव) बाट गरिएको थियो भने कार्यक्रममा उपस्थितलाई उपसभापति ठाकुर कुमार परियारले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए । रमदानको बारेमा मौलानले व्याख्या गरेका थिए । कार्यक्रममा जनसम्पर्क समिति कतारका संस्थापक सभापति एवं एनआरएनए आइसिसी उपाध्यक्ष नरेन्द्र भाट, एनआरएनए आइसिसी युवा उपाध्यक्ष राज रेग्मी, सचिव प्रविण गुरुङ लगायत कतारमा स्थापित विभिन्न जिल्ला, प्रदेश परिषद्, वैचारिक संगठन, महिला समाज, पत्रकार, सामुदायिक संस्थाहरूका अध्यक्ष तथा प्रतिनिधीहरुको आतिथ्यतासहित उनीहरूले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले टिममा मिलेर काम गर्न आग्रह गर्दै टिमवर्कले नतिजा सकारात्मक आउने बताए । आफ्नो मन्तव्यको क्रममा भट्टराईले कतारमा पासपोर्ट राखेर साथि-साथिबीच आर्थिक कारोबार हुने र नतिर्ने गरेको धेरै गुनासा नियोगमा आउने गरेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरे । भट्टराईले पासपोर्ट हरायो भने अर्को बनाउन मिल्ने हुँदा अनावश्यक विश्वासमा नफस्न आग्रह गर्दै त्यसले विकराल रूप लिँदै गएको प्रति चिन्ता व्यक्त गरे ।
महामन्त्री केदार भुसालले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति अलीले कार्यक्रममा आमन्त्रित अतिथिले समयको कदर नगरिदिंदा अतिथिलाई नै सत्कार दिन आयोजक चुक्ने गरेको तितो यथार्थता प्रति रोष प्रकट गरे । अलीले संघ संस्थाका अगुवा तथा नेतृत्वकर्ताहरु पङ्चुअल नहुँदा सेड्युल नै बिग्रने गरेको बताए । दाङको मस्जिदमा भएको हमलाको निन्दा गर्दै उनले सबैलाई नयाँ वर्ष तथा रमदानको शुभकामना व्यक्त गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend