साझा नेटवर्क
हुमाकान्त पोखरेल,
गुल्मी, ०७ वैशाख । गुल्मीमा दोस्रो कार्यकालका लागि तीनजना पालिका अध्यक्षले पुन ः उम्मेदवारी दिएका छन् । धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल, मालिका गाउँपालिकाका अध्यक्ष रित बहादुर थापा र सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकाल उम्मेदवार भएका हुन् । पोखरेल नेकपा माओवादी केन्द्र, थापा नेकपा एमाले एवम् ढकाल नेपाली काँग्रेसबाट विजयी भएका हुन् । ०७४ को स्थानीय तहको निर्वाचनमा धुर्कोटमा नेपाली काँग्रेससँगको तालमेलबाट पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् । ३४ बर्षिय पोखरेल पाँच हजार ११६ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्धती एमालेका ५२ बर्षिया कृष्ण घिमिरेले चार हजार ७५३ मत ल्याएका थिए ।
अहिलेसम्म धुर्कोटमा गठबन्धनको टुंगो लागेको छैन भने अन्य दलले पालिकाको अध्यक्ष घोषणा गरेका छैनन् । गत निर्वाचनमा एमालेमा लागेका केही व्यक्तिहरु अहिले समाजवादीमा जोडिएका छन् । ‘कार्यसम्पादन मूल्याकंनको आधारमा लुम्बिनी प्रदेशमा प्रथम तथा देशभरमै तेस्रो भयौँ ।’ अध्यक्ष पोखरेलले भने, ‘हाम्रो नेतृत्वमा विकासले तिब्रता पाएकोले दोस्रो कार्यकालको लागि उम्मेदवार भएको हुँ ।’
मालिकाका अध्यक्ष थापा निर्वाचित हुँदा ५६ बर्षका थिए । उनी चार हजार ४२ मतसहित विजयी भएका हुुन् भने उनका निकटमत प्रतिद्धन्द्धी काँग्रेसका ६२ बर्षिया ज्ञान बहादुर कार्कीले तीन हजार ४४७ मत ल्याएका थिए । त्यस्तै माओवादी केन्द्रका ३८ बर्षिया देविराम अर्यालले दुई हजार ४० मत ल्याएका थिए । अहिले मालिकामा एमालेविरुद्ध पाँच दलिय गठबन्धन भएको छ । जसमा माओवादीको तर्फबाट देविराम अर्याल अध्यक्ष एवम् काँग्रेसको तर्फबाट उपेन्द्र अर्याल उपाध्यक्षका उम्मेदवार छन् । अहिले गठबन्धन भएकाले आफुहरुले जित्ने गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार अर्याल बताउछन् । तर पाँच बर्षसम्म एमालेको सरकारले राम्रो काम गरेकोले गठबन्धनलाई पराजित गर्ने एमाले गाउँ कमिटी अध्यक्ष ओम कार्कीले प्रतिक्रिया दिए ।
सत्यवती गाउँपालिकामा काँग्रेसका ४८ बर्षिया ढकाल पाँच हजार १९७ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका ४८ बर्षिया अम्मर सिंजापतीले पाँच हजार १३३ मत ल्याएका थिए । उनीहरुबीच गत निर्वाचनमा ६४ मत अन्तर थियो । सत्यवतीमा गत निर्वाचनमा माओवादी र काँग्रेसबीच तालमेल भएपनि उपाध्यक्षमा भने माओवादीको उम्मेदवार विजयी भएनन् । सत्यवतीमा अहिलेसम्म गठबन्धनको समेत टुंगो लागेको छैन ।
दोहोरिने दाउमा वडाध्यक्ष पनि
जिल्लाका सबैजसो राजनीतिक दलले केही वडाहरुमा वडाध्यक्षका उम्मेदवार समेत छनोट गरिसकेका छन् । सबैभन्दा धेरै नेकपा एमालेले करिब ९० वडामा वडाध्यक्षका उम्मेदवार छनोट गरेको जिल्ला जिल्ला अध्यक्ष बालिसिंह काउछाले जानकारी दिए । काँग्रेसले करिब ३० र माओवादीले करिब १५ वडामा वडाध्यक्षको उम्मेदवार टुंगाएका छन् । जसमध्ये एमालेबाट निर्वाचित वडाध्यक्षलाई पार्टीले पुन दोहो¥याउने भएको छ । मदाने गाउँपालिका –४ का भिम प्रसाद भट्टराई, –५ का हिमाल खड्का, मालिका –६ अर्जैका शोभाखर गिरी, इस्मा –६ का हिरा बहादुर जिसी, धुर्कोट गाउँपालिका वडा नम्बर ३ का विष्णु श्रीस, वडा नम्बर ६ का कृष्ण नेपाली पनि दोस्रो कार्यकालका लागि वडाध्यक्षका उम्मेदवार भएका छन् । उनीहरु सबै एमालेबाट निर्वाचित हुन् ।
काँग्रेसले धुर्कोट –५ का वडाध्यक्ष ढुन्डी प्रसाद भण्डारीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । धुर्कोट रजस्थलका वडाध्यक्ष नेपालीले कार्यक्रताको चाहानाले आफु दोस्रो कार्यकालको लागि अध्यक्षको उम्मेदवार बनेको बताए । एमालेकै जिल्ला अध्यक्ष बालसिंह काउछाले पार्टीमा सबैभन्दा सक्षम र योग्य व्यक्तिलाई दोस्रो पटक जनप्रतिनिधि बनाउन लागिएको बताए । ‘सबैभन्दा दक्ष र सक्षम व्यक्तिलाई पार्टीले टिकट दिन्छ ।’ उनले भने ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend