साझा नेटवर्क
सन्तोष महतारा गुल्मी, चैत २९ ।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ मा रामबहादुर थापा सर्वसम्मत अध्यक्षको उमेदवार बनेका छन् । नेकपा एमाले वडा कमिटीको तर्फबाट थापा सर्वसम्मत वडाध्यक्षको उमेदवार बनेका हुन् । कर्मचारी संगठनमा आबद्ध भई थापा ३८ वर्षदेखि निरन्तर समाजसेवा क्रियाशिल छन् ।
उनी विगत ७ वर्षदेखि कर्मचारीबाट अवकाश भई रेसुङ्गा नगरपालिका वडा नम्बर ७ मा समाजसेवा गरिरहेका छन् । आफू व्यक्तिगत तथा पारिवारिक स्वार्थ भन्दा माथि उठेर निरन्तर सामाजिक क्षेत्रमा काम गरिरहेकोले आफू वडाध्यक्षमा बहुमतका साथ बिजयी हुने थापाले दाबी गरे ।
वडाका नागरिकहरु बिरामी हुँदा, विद्यालयमा समस्या पर्दा, सामुदायिक बनमा काम गर्नुपर्दा, नागरिकमा आउने बिपद्का कुराहरुमा, सामाजिक संघसंस्था तथा अन्य सबै प्रकारका सामाजिक क्षेत्रहरुमा आफू निरन्तर क्रियाशिल रहेका कारण आफु रेसुङ्गा नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा बहुमतका साथ बिजयी हुनेमा ढुक्क रहेको बताए ।
थापाले आफू बिजयी भएपछि तल्लो तहका नागरिकको घरघरमा चुल्हो बाल्ने आफ्नो प्राथमिकता रहेको बताए । ‘वडामा गरिबीका कारण साँझ र बिहान चुल्हो बाल्न नसक्ने घरपरिवार छन् ।’ एमालेका तर्फबाट वडाध्यक्षका उमेदवार थापाले भने, “कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर गरिबीलाई माथि उठाउँछु ।”
आफूले कृषि र पशुमा कर्मचारीको रुपमा धेरै अनुभव संगालेका कारण कृषि र पशुपालनबाट वडालाई समृद्ध बनाउनेमा आफु बिश्वस्त रहेको थापाको भनाई छ । वडाका सबै विद्यालयलाई व्यवस्थित बनाएर जिल्ला सदरमुकाम स्तरको शिक्षा प्रदान आफ्नो वडामा गर्ने योजना रहेको बताउँदै थापाले हरेका प्रकारको क्षेत्रमा आफूले उल्लेखनीय काम गर्ने दाबी गरे ।
वडाको चौतर्फी विकासका लागि आफू अनुभवी रहेको भन्दै थापाले सुर्य चिन्हमा मतदान गरेर आफुलाई अत्याधिक मतले बिजयी बनाउन आग्रह गरे । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि उक्त वडामा नेपाली काँग्रेसले नेपाल विद्यार्थी संघ गुल्मीका उपसभापति राम्जी पन्थीलाई वडाध्यक्षको उमेदवार बनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend