logo
  • शुक्रबार, असोज ९ २०८३

मालिकामा पाँच दलीय गठबन्धन ः अध्यक्ष माओवादी केन्द्रलाई


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

हुमाकान्त पोखरेल
गुल्मी, २३ चैत । गुल्मीको मालिका गाउँपालिकामा एमालेविरुद्ध पाँचदलीय गठबन्धन बनेको छ । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि गाउँपालिका अध्यक्षको उम्मेदवार माओवादी केन्द्रलाई पर्नेगरी गठनबन्धन भएको हो । गठबन्धनमा माओवादीसँगै नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सहभागि छन् । गठनबन्धनको मंगलबार गाउँपालिकाको वडा नम्बर ४ ठुलिचौरमा चुनावी घोषणा सभा गरी सार्वजनिक गरिएको छ ।

गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका देविराम अर्याल साझा उम्मेदवार भएका छन् । उनी पार्टीका पालिका अध्यक्ष समेत हुन् । पालिका उपाध्यक्ष नेपाली काँग्रेसको भागमा परेको छ । काँग्रेसले भने अझै उम्मेदवारको टुंगो लगाएको छैन । काँग्रेसको तर्फबाट पार्टीका पालिका उप–सभापति दीपक भण्डारी, वडा नम्बर १ का वडाध्यक्ष इन्द्र बहादुर घर्ती, पालिका सभापति उपेन्द्र अर्याल लगायतको नाम चर्चामा छ । तर उपाध्यक्षको उम्मेदवार सर्वसम्मत रुपमै टुंगो लगाउने काँग्रेस मालिका गाउँकमिटीको तयारी रहेको सभापति उपेन्द्र अर्यालले बताए ।

पालिकाका आठओटा वडामध्ये माओवादी केन्द्रको भागमा दुई र नेपाली काँग्रेसको भागमा पाँचवटा वडा परेका छन् । माओवादी केन्द्रले वडा नम्बर ३ ह्वाङ्दिमा पार्टीका प्रदेश कमिटी सदस्य अर्जुन बुढा मगर र वडा नम्बर ८ मर्भुङ्गमा पार्टीका गाउँकमिटी सचिव सुर्य बहादुर जिसीलाई वडाध्यक्ष बनाउने तयारी गरेको छ । काँग्रेसलाई वडा नम्बर १ नेटा, वडा नम्बर २ दर्लिङ, वडा नम्बर ४ अर्खबाङ्ग, वडा नम्बर ५ छाप, वडा नम्बर ६ अर्जै र वडा नम्बर ७ घमिर परेका छन् । काँग्रेसले पनि केही दिनमै सर्वसम्मत रुपमा वडाध्यक्षका उम्मेदवारको उम्मेदवारको टुंगो लगाउने पार्टीका पालिका उप–सभापति दीपक भण्डारीले जानकारी दिए ।

घोषणा सभामा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति त्रैलोक्य प्रताप सेनले कुनै दलका विरुद्ध नभई अधिकारको रक्षाका लागि पाँचदलीय गठनबन्धन बनाएको बताएका छन् । ‘दुई–दुई पटक संसद विघटन गरेर एमालेले राष्ट्रघाती काम ग¥यो ।’ सेनले भने, ‘संविधानको रक्षाका लागि पाँच दल एक ठाउँमा उभिएका छौँ ।’ माओवादी केन्द्रका प्रदेश सदस्य अर्जुन बुढा मगरले विगतमा एमालेले सत्ता संचालन गर्दा जनताको भावनालाई कदर गर्न नसकेको आरोप लगाए । नेपाली काँग्रेसका प्रदेश सभापति रेखा कुमार जिसीले देशमा भएका ठुला–ठुला परिवर्तनमा काँग्रेस र माओवादी सँगै भएकोले यसपटक पनि आफुहरु सँगै उभिएको धारणा राखे ।

कार्यक्रममा नेकपा एसको तर्फबाट सागर गिरी, जनता समाजवादी पार्टीको तर्फबाट खड्क विक लगायतले मन्तव्य राख्दै गठबन्धनको विकल्प नभएको बताएका थिए । गत स्थानीय तहको निर्वाचनमा पालिकामा नेकपा एमालेको तर्फबार चार हजार ४२ मत प्राप्त गर्दै रित बहादुर थापा विजयी भएका थिए । त्यस्तै नेपाली काँग्रेसका ज्ञान बहादुर कार्कीले तीन हजार ४४७ र नेकपा माओवादी केन्द्रका देविराम अर्यालले दुई हजार ४० मत प्राप्त गरेका थिए । यसरी हेर्दा पनि गठनबन्धको पक्षमा पाँच हजार चार सय ८७ मत हुने र अहिले एमाले फुटेर नेकपा एस बनेकोले पनि आफुहरु विजयी हुने गठबन्धनका साझा उम्मेदवार देविराम अर्यालले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend