logo
  • शनिबार, साउन ३० २०८३

निर्वाचन प्रणालीमा परिवर्तनको खाँचो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

-अतुल पाठक ।
निर्वाचन प्रणालीलाई सुधार गनुपर्ने तर्फ पहल गर्न ढिला भइसकेको छ । नेपालका लागि कस्तो निर्वाचन प्रणाली उपयुक्त हुन्छ भन्ने विकल्पबारे सोच्नुपर्छ। अब अवलम्बन गरिने निर्वाचन प्रणालीले सबै विकृतिको समाधान दिन सक्नुपर्छ । पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाँदा निर्वाचन खर्चमा उल्लेख्य रूपमा कमी आउँछ।
कार्यकारी प्रमुखको प्रत्यक्ष निर्वाचनमा खसेको मतलाई आधार मानी समानुपातिकका लागि अमुक दलले प्राप्त गर्ने सङ्ख्या निर्धारण गर्न सकिन्छ। प्रत्यक्ष निर्वाचनमा खसेको मतलाई समानुपातिक मत मान्न सकिन्छ। यसमा कार्यकारी प्रमुखले ५० प्रतिशतभन्दा बढी मत ल्याउनु जरुरी छ। कुनै पनि व्यक्ति कार्यकारी प्रमुख र सांसद दुई पटकभन्दा बढी हुन नपाउने अनिवार्य व्यवस्था गर्नु पनि जरुरी हुन्छ।

समानुपातिकबाट सांसद बन्नेलाई मन्त्री नबनाउने र कानून निर्माताको भूमिकामा राख्दा निर्वाचनमा अस्वस्थ प्रतिस्पर्धा कम हुन्छ। मन्त्री बन्ने दौडमा सरकार गठन गर्ने र गिराउने प्रक्रियामा कमी आउँछ। यस प्रकारको व्यवस्था गर्दा पछाडि परेका र महिलाका लागि न्यायोचित प्रतिनिधित्वको व्यवस्था अनिवार्य गर्नुपर्छ।

यस प्रणालीको अवलम्बन गरिंदा समाजमा ख्यातिप्राप्त, आफ्नो क्षेत्रका विशेषज्ञ, नैतिकता र सच्चरित्रता कायम गर्न सफल, समाजमा स्वीकार्य व्यक्तित्वको छनोट गरी मन्त्री बनाइनुपर्छ। यस प्रकारको छनोटका लागि वस्तुनिष्ठ आधारहरू निर्धारण गरिनुपर्छ। चुनावमा पाएको मतको आधारमा दलहरूलाई निर्वाचन खर्च सरकारले दिने व्यवस्था गर्नुपर्छ ।

राजनितिक दलहरुले आसन्न स्थानीय तहको निर्वाचन बारे गम्भीर हुन जरुरी छ। नेतृत्वले चुनावको टिकट दिँदा हाम्रालाई होइन राम्रालाई दिनुपर्छ। सिफारिशको भरमा टिकट होइन कसले जनता र देशको हितमा काम गर्न सक्छ वा गरिरहेको छ भन्ने ठम्याएर टिकट दिनुपर्यो। पैसाले टिकट किन्न सकिन्छ भन्ने हौवालाई नेतृत्वपंक्ति ले चिर्नु आवश्यक छ।

पैसाको बलमा गरिने राजनिति भ्रष्टाचार निति हो भन्दा फरक पर्दैन। जनहितका काम गर्न नपर्ने, जोसँग पैसा छ उसले टिकट पाउने हो भने राजनिति असल निति हो भन्न सकिदैन। निर्वाचन अघि अनेक अस्वासन दिने अनि जितेपछि आफ्नो क्षेत्र फर्केर नजाने नेताहरु को कमि छैन।

यसकारण पनि जो गाउँमा बसेर गाउँकै बारेमा सोच्छ उसलाई टिकट दिन पर्छ। यतातिर पनि नेतृत्वले अग्रसरता लिनुपर्छ। राजनितिलाई व्यापार बनाइएको छ। अचाक्ली पैसा खर्च गरेर निर्वाचन जित्ने नेताहरुले पछि पदमा पुगेपछि सोभन्दा बढी पैसा कमाउने दबावमा हुन्छन् र यसका लागि नेताहरु रातदिन रणनिती बनाउन सक्रिय हुन्छन्।

यसकै कारण देशमा भ्रष्टाचार बढेको देखिन्छ। कति त बिना लगानी कमाइन्छ भनेरै पनि राजनितिमा लागेका छन्। राजनितिमा अस्वस्थ प्रतिस्पर्धा बढ्नुको कारण यो पनि हो। राजनिति बिचौलियाको हातमा गएको आरोप लाग्दै आएको छ। यसलाई चिर्न दलका नेतृत्व लाग्नु पर्यो। सधै आफ्ना बारेमा मात्र होइन देश र जनताको लागि सोच्नु पर्यो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend