logo
  • शनिबार, असोज १० २०८३

प्रदेश प्रमुखद्वारा तिलोत्तमामा स्केट पार्क उद्घाटन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

गुनाराम घिमिरे, बुटवल फागुन २१ ।
रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको ‘स्केट पार्क तथा सामुदायिक केन्द्र’ औपचारिक रुपमा सञ्चालनमा आएको छ। शनिबार एक समारोहका बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेपछि स्केट पार्क औपचारिक रुपमा सञ्‍चालन सुरु भएको हो ।
तिलोत्तमा नगरपालिका वडा न ४ डिङगरनगरस्थित तिनाउ नदीको छेउमा निर्मित स्केट पार्क तथा सामुदायिक केन्द्रको शिलालेखको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरे र स्टेक एड इन्टरनेशनलका संस्थापक अध्यक्ष प्रोफेसर टिटस् डिटम्यानले अनावरण गरेका छन्। स्केट पार्क उद्घाटन भएसँगै नियमित खेल र अभ्यासका लागि खुला हुनेछ।

तिलोत्तमा नगरपालिकासँग अनुमति लिएर करिब १० कठ्ठा क्षेत्रफलमा इन्डोर स्केट पार्क बनाउने उद्देश्यले स्केट एड नेपालले पार्क निर्माण गरेको हो। पहिलो चरणमा स्केट पार्क तयार पारिएको हो। गुरुयोजना अनुसार तेस्रो चरणसम्मको योजना सम्पन्‍न हुँदा स्केट पार्क दक्षिण एसियाकै नमुना हुनेछ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले खेल क्षेत्रले सबैलाई एकताबद्ध बनाउने भएकाले यसको विकासमा तीन तहकै सरकार जिम्मेवार बन्‍नुपर्ने बताए। उनले स्केट पार्क निर्माण हुनु नेपाली र लुम्बिनीबासीका लागि गर्वको विषय बनेको बताए। उनले स्केट खेल क्षेत्रमा पार्कले महत्वपूर्ण योगदान गर्ने बताउँदै भौतिक रुपमा पूर्वाधार विकासमा सबैले ध्यान दिनुपर्ने बताए।

आफ्ना बच्चाहरु खेलप्रति आर्कषित हुँदा बुबाआमा चिन्तित हुनुहुन्‍न, खेलबाटै विश्वमा पहिचान बनाउन सकिन्छ,’ प्रदेश प्रमुख शेरचनले भने।कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री एंव प्रदेशसभा सदस्य लिला गिरीले तिलोत्तमा नयाँ खेलको विकासका लागि स्टेक पार्क बनेकोले यसको थप भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने बताए। उनले आफ्नै निर्वाचन क्षेत्रमा भएको स्केट पार्कले नयाँ पुस्तालाई आर्कषित गर्न प्रोत्साहन गर्ने विश्वास लिए।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले स्केट पार्कले खेल क्षेत्रमा नयाँ आयाम थप्ने बताए। उनले स्केट पार्कको प्रस्ताव ल्याउँदा सुरुमा विश्वास नलागेर धेरैपटकको छलफल गरिएको बताउँदै अहिले मुर्त रुप पाउदा खुशी लागेको बताए। तिलोत्तमा नगरपालिकाले तिनाउ नदी छेउका खाली जग्गामा नमुना खालका योजनाहरु सञ्चालन गरेकाले पार्क वरिपरि अन्य नयाँ संरचना समेत छिट्टै बन्ने नगरप्रमुख घिमिरेको भनाई छ।

उक्त अवसरमा स्केट एड इन्टरनेशनलका संस्थापक अध्यक्ष टिट्‌स डिटम्यानले स्केट पार्कले नेपाली युवाहरुलाई आर्कषित गर्न सफल हुने बताए। उनले स्केट बोर्ड आफैंमा साहसी खेल भएकाले यसबाट बालबालिकाहरुले लाभ लिने विश्वास गरे। स्केट पार्कको पहिलो चरणको काम सकिएकाले अब नियमित रुपमा प्रशिक्षण र खेल प्रतियोगिताहरु समेत गर्न सकिने स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए।

फ्रान्स, जर्मनी, क्यानडा, स्पेन, जापान, भारत र नेपालका स्केट क्षेत्रका करिब ६० जना व्यक्तिहरुले स्वयंसेविकाका रुपमा निर्माण सम्पन्‍न भएको पहाडीले बताए। स्केट एड इन्टरनेशनल, स्केट एड नेपाल र युवा फर चेञ्जले संयुक्त रुपमा पार्क निर्माणमा जुटेका हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend