साझा नेटवर्क
हुमाकान्त पोखरेल,गुल्मी फागुन १२ ।
मुसिकोट नगरपालिका –५ आँपचौरमा निर्माणाधिन ‘तल्लाफाँट शहिद पार्क’ क्षेत्रमा निर्माण गरिएका विभिन्न भौतिक संरचनाको उद्घाटन गरिएको छ ।
शहिद गेट, सानो टावर, ट्रस्ट लगायतका संरचनाको सोमबार गुल्मी निर्वाचन क्षेत्र नम्बर २ ‘क’ का सासंद खड्ग केसीले उद्घाटन गरेका हुन् । जनयुद्धको क्रममा मुसिकोट नगरपालिकाका विभिन्न शहिदहरुको सम्झनामा आँपचौरको तल्लाफाँटमा शहिद पार्कको काम सुरु गरिएको थियो । पार्क निर्माणका लागि आर्थिक बर्ष २०७५÷७६ मा लुम्बिनी प्रदेशबाट ५० लाख र नगरपालिकाबाट पाँच लाख बिनियोजन भएको थियो । त्यस्तै ०७६÷७७ मा लुम्बिनी प्रदेश सरकार र नगपालिकाको ५०÷५० लाख गरी एक करोडको काम भएको थियो । भने सिँचाई डिविजन कार्यालय र नगरपालिकाको २०÷२० लाख गरी ४० लाख लागतमा बडिगाढ नदिको करिब ८० मिटर क्षेत्र तटबन्ध गरिएको छ ।
शहिद पार्क क्षेत्रमा अहिलेसम्म कार्यक्रम गर्न मिल्नेगरी भवन अर्थात ट्रस्टको निर्माण गरिएको छ । बोटिङ गर्नको लागि क्यानल, पुल, बृक्षारोपण लगायतका काम गरिएको छ । नदि किनारमा हालसम्म आँप, लिचि, केरा लगायतका बिरुवा लगाइएको छ । त्यस्तै जिल्ला बन कार्यालयको सहयोगमा बन नर्सरी पनि बनाइएको छ । नर्सरीमा तेजपात, अमला, लप्सी, हर्रो, बर्रो, चिउरी लगायतका १५ हजार बिरुवा लगाइएको छ । नर्सरीको लागि स्थानीयले श्रमदान गरेका हुन भने अन्य खर्च बन कार्यालयले व्यहोरेको कार्यालय प्रमुख प्रभात सापकोटाले बताए । शहिद पार्कमा घुम्न आउने पर्यटकलाई एक÷एक वटा बिरुवा प्रदान गर्ने उदेश्यले नर्सरीको स्थापना गरिएको सापकोटाको भनाई छ ।

२८ करोडको स्टिमेट
नगरप्रमुख सोमनाथ सापकोटाले पर्यटक भित्राउने मुख्य उदेश्यले शहिद पार्क बनाउन लागिएको बताए । उनका अनुसार शहिद पार्कमा कुल २८ करोड बराबरको स्टिमेट गरिएको छ । पार्कमा अझै ६ वटा ट्रस्ट निर्माण, खरले छाएका विश्रामस्थल, नदिको तटबन्ध, फुटपाथ, चिल्ड्रेन पार्क लगायतका संरचना बनाउन बाँकी रहेको नगरप्रमुख सापकोटाले बताए । बजेटको लागि डिपिआर तयार गरेर प्रस्तावनासहित प्रदेश र संघीय सरकारमा पेश गरेको उनको भनाई छ । कार्यक्रमलाई सम्बोधन गर्दै सासंद खड्ग केसीले शहिद पार्कको लागि बजेटको कमि हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।
स्थानीय खुसि, काम सम्पन्न गर्न चुनौति
नगरपालिकाको उक्त स्थानलाई पहिले ढुंगेबर भनेर चिनिन्थ्यो । यस्तो स्थानमा पार्क बन्न लाग्दा स्थानीय भने खुसि छन् । उक्त ठाउँ रिडी–रुद्रवेणी सडकको नजिकै पर्छ । उक्त सडक अहिल पिच हुने प्रक्रियामा रहेकोले पनि पार्कमा पर्यटक आउनेमा स्थानीय ढुक्क छन् । ‘हाम्रो ठाउँमा पार्क बन्नु सौभाग्य हो, यसले हामीलाई रोजगारी समेत सिर्जना गर्छ ।’ स्थानीय सुवास खरेलले भने, ‘यसलाई सकेसम्म छिटो सम्पन्न गर्नुपर्छ ।’ राज्यले सुरु गरेका योजना कतिपय ठाउँमा बजेट अभावमा रोकिएको भन्दै उनले पार्क बनाउने काममा पर्याप्त बजेट हुनुपर्नेमा जोड दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend