साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी फागुन १२ ।
मुसिकोट नगरपालिका ५ को आँपचौर स्वास्थ्यचौकी उद्घाटन गरिएको छ । नवनिर्मित स्वास्थ्यचौकी भवनको एमाले सचिव तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले उद्घाटन गरे ।
उनले गुल्मीमा स्वास्थ्यचौकीहरुको भवन निर्माणको सन्दर्भमा देशकै नमुना काम भइरहेको बताए । केहि बर्षभित्र २ नं निर्वाचन क्षेत्र भित्रका स्वास्थ्यचौकीहरु मापदण्ड अनुसारकै भवनहरुमा संचालन गर्ने गरेर योजना अगाडी बढेको बिष्टले बताए । उनले कच्ची घर, स्कुल र साँघुरा भवनमा कष्टपूर्ण सेवाप्रबाह गरिरहेका स्वास्थ्य संस्थाहरु आधुनिक भवनहरुमा देख्न पाउँदा अत्यन्तै खुसीको महसुस भएको बताए । आँपचौर स्वास्थ्यचौकी ०७५ सालमा सम्झौता भएर निर्माण थालिएको थियो । डेढ करोडको लागतमा स्वास्थ्यचौकी निर्माण गरिएको मुसिकोट नगरपालिका वडा नं ५ का वडाध्यक्ष भागिरथ भण्डारीले जानकारी दिए । उनले बार्थिङ्ग सेन्टर र आवाससहितको आधुनिक स्वास्थ्यचौकी निर्माणले आँपचौरबासीमा नयाँ आशा पलाएको खरेलले बताए ।
मुसिकोटका गाउँ–गाउँमा आधरभुत सेवा
मुसिकोट नगरपालिकाले विभिन्न माध्यमबाट आधरभुत सेवा गाउँ–गाउँमा पुराएको छ । मुसिकोट नगरपालिकामा बर्थिङ्ग सेन्टर ६ वटा स्वास्थ्य संस्थाहरुमा रहेको छ । पौदाअमराई स्वास्थ्यचौकी, वडागाउँ स्वास्थ्यचौकी, आपचौर स्वास्थ्यचौकी, कुर्घा स्वास्थ्यचौकी, वामीटक्सार स्वास्थ्यचौकी र वामीमैदान आधारभुत स्वास्थय सेवा केन्द्रबाट बर्थिङ्ग सेन्टर संचालन गरेर सेवा प्रबाह भइरहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबि जिसीले जानकारी दिए । त्यस्तै नगरपालिकाले वडा नं ८ मा वामीमैदान आधारभुत स्वास्थय सेवा र वडा नं ४ मा नेटाखर्क आधारभुत स्वास्थ्यकेन्द्र संचालन गरेको जिसीले बताए । त्यस्तै वडा नं ३ मा पेगा शहरी स्वास्थ केन्द्र, वडा नं १ मा थामडाँडा शहरी स्वास्थ केन्द्र र वडा नं ४ मा बरदान शहरी स्वास्थ केन्द्र संचालन गरेर नागरिकलाई आधारभुत स्वास्थ्य सेवा छिटो छरितो बनाइएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए । मुसिकोट वडा नं २ खस्थोक र वडा ४ दजाकोट सामुदायी स्वास्थ्य केन्द्र मार्फत आधाभुत स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
अझै ६ स्वास्थ्यचौकी निर्माण हुन बाँकी
मुसिकोट नगरपालिकाका तीन स्वास्थ्यचौकी मात्रै आफ्नै मापदण्ड अनुसार निर्माण भएका छन् । अहिलेसम्म आँपचौरसहित, वडागाउँ र कुर्घा स्वास्थ्यचौकीको मापदण्ड अनुसारको आधुनिक भवन रहेको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले जानकारी दिए । अझै छ वटा स्वास्थ्यचौकीका भवन निर्माण गर्नुपर्नेछ । केहिको प्रक्रिया अगाडी बढेकाले क्रमिक रुपमा सवै स्वास्थ्यचौकीका भवन निर्माण हुने मेयर सापकोटाले बताए । मुसिकोट नगरपालिका १ र ८ का स्वास्थ्यचौकी बिद्यालयका कोठाहरुबाट संचालन भएका छन् । भने केहि सामान्य साँघुरो भवनबाट संचालन भएको मुसिकोट नगरपालिकाले जनाएको छ । नगरपालिकामा चार वटा एम्बुलेन्स संचालनमा रहेका छन् । सात मध्ये एक भर्खरै जलेको र दुई वटा बिग्रेर बसेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend