साझा नेटवर्क
कमल पौडेल, बागलुङ फागुन ०४।
बडिगाड गाउँपालिकामा यहिँ फागुन ७ गते देखि २६ गते सम्म वृहत जनस्वास्थ्य अभियान सञ्चालन हुने भएको छ। बडिगाड गाउँपालिकाको आयोजनामा विशेषज्ञ डाक्टरहरु सहित पालिका भित्रका १६ स्थानमा सो अभियान सुरु गर्न लागेको स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य निरिक्षक चुडामणि कँडेलले जानकारी दिनुभएको छ।
१६ जना विशेषज्ञ डाक्टरहरु सहित हुने सो अभियानमा हड्डी, नाककान घाँटी, स्त्रीरोग तथा प्रसुति, छाला, आँखा तथा मानसिक रोग लगाएतको विशेषज्ञ सेवा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ। सो अभियानमा रेडियोलोजिष्टबाटै भिडियो एक्सरे सेवा लगाएत एकिकृत स्वास्थ्य सेवाको व्यवस्था गर्न लागेको जनस्वास्थ्य निरिक्षक कँडेलले बताउनु भएको छ।
गण्डकी मेडिकल कलेज पोखराको सहकार्यमा बडिगाड गाउँपालिका भित्रका भिमगिठे, ग्वालीचौर, जलजला र खर्वाङमा वृहत स्वास्थ्य सेवा सहितको कार्यक्रम क्रमसः फागुन ८, ९, १० र ११ गते सञ्चालन गर्ने गरि तयारी भएको हो। त्यस्तै पालिका भित्रका टुनिवोटमा फागुन ७ गते, दर्लिङखोलामा १२ गते, खालामा १३ गते, दाँगमा १४ गते, दगातुन्डाडामा १७ गते, शिसाखानी १८ गते, खारखोलामा १९ गते, झुलेडाँडामा २० गते, रणसिंहकिटेनीमा २२, भेँडिखोरमा २३ गते, दोभानमा २४ गते र ग्वालीचौरमा २५ गते स्वास्थ्य जाँच सहित जनस्वास्थ्य अभियान गर्ने गरि कार्यतालिका बनाइएको कँडेलले जानकारी दिनुभएको छ।
सो अभियानमा ४० वर्ष माथिको सवै सेवाग्राहिहरुको किड्नीको जाँच, ४० वर्ष माथिका सवै महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको जाँच, सवै सेवाग्राहिको मधुमेह जाँच गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य शाखाले जनाएको छ। त्यस्तै अभियानमै ६० वर्ष माथिका जेष्ठ नागरिकहरुको भेला गरि नसर्ने रोगहरु विरुद्धको सचेतना तथा अभिमुखिकरण कार्यक्रम, सुनौला हजार दिन भित्रका आमाहरुको भेलामा गर्भवतिहरुको भिडियो एक्सरे तथा स्वास्थ्य शिक्षा सञ्चालन गरिने भएको छ।
त्यस्तै परिवार नियोजनका साधनहरु नरप्लान्ट, कपर टि राख्ने लगाएतको काम पनि सो अभियानमा हुने जनाइएको छ। बडिगाड गाउँपालिकाको आन्तरिक श्रोत तथा शसर्तको कार्यक्रम अनुसार कार्यक्रम गर्न लागेको गाउँपालिकाले जनाएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend