साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी माघ १९ ।
नेकपा एमालेका नेता गणेश विश्वकर्मा नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । विद्यार्थी राजनीतिबाट नै माले हुँदै एमालेमा सक्रिय विश्वकर्माले एकीकृत समाजवादीको केन्द्रिय सदस्यको जिम्मेवारी प्राप्त गर्दैछन् । विश्वकर्मालाई केन्द्रिय सदस्य बनाउनको लागि जिल्ला कमिटीबाट सिफारिस गरेको र केन्द्रले छिट्टै निर्णय गर्ने नेकपा एकीकृत समाजवादीका गुल्मी जिल्ला अध्यक्ष नरेश भण्डारीले जानकारी दिए ।
विश्वकर्मा गुल्मीमा दलित अधिकारकर्मीको रुपमा पनि सक्रिय थिए । नेता विश्वकर्मा ०३६ सालदेखि अनेरास्ववियुमा सक्रिय थिए । ०३७ देखि ४१ सम्म पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा अनेरास्ववियुको तर्फबाट दुई कार्यकाल स्ववियु सचिव भएका विश्वकर्मा ०४६÷४७ को आन्दोलनमा पनि सक्रिय थिए ।
०४९ मा नेकपा एमालेको संगठिन सदस्य प्राप्त गरेका उनी सोही बर्षमै साविक अर्खले गाविसमा उपाध्यक्षको पदमा निर्वाचनमा होमिएका थिए । साथै ०५४ सालमा जिल्ला विकास समिति गुल्मीको सदस्यमा एमालेबाट निर्वाचित भएका थिए । ०५४ देखि ६२ सम्म दुई कार्यकाल एमालेकै भातृ संगठन नेपाल उत्पिडीत जातीय मुक्ति समाजको केन्द्रिय कोषाध्यक्ष भई काम गरेको अनुभव उनीसँग छ ।
पछिल्लो समय नेकपा हुँदा पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारी पाएका थिए । तर पार्टी अलग भइसकेपछि नेकपा एमाल विधि र पद्धतीअनुसार नचलेको भन्दै आफुले एमाले त्यागेको उनले बताए । ‘दुई पटकसम्म संसद विघटन भयो, एमालेमा नीति भन्दापनि व्यक्ति हावी भए ।
उनले भने, ‘पार्टीको गलत संस्कारविरुद्ध बिद्रोह गरेको हुँ ।’ अब उनले आफु नेकपा एकीकृत समाजवादीमा रहेर समाज रुपान्तरणमा भूमिका खेल्ने प्रतिक्रिया दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend