साझा नेटवर्क
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । जुन दश वर्षअघि (२०६८ साल) को जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ को तुलनामा २६ लाख ९७ हजार ९७६ ले मात्र बढी हो ।
राष्ट्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नजिताअनुसार १० वर्षमा नेपालको जनसंख्या १० दशमलव १८ प्रतिशतले बढेको देखिएको छ । विगत १० वर्षको सरदर वार्षिक जनसंख्या वृद्धिदर शुन्य दशमलव ९३ प्रतिशत देखिएको छ ।
जबकी २०५८ देखि २०६८ सम्मको १० वर्षमा सरदर वार्षिक जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको थियो । अपेक्षा अनुसार जनसंख्या वृद्धिदर नहुँदा प्रक्षेपणभन्दा थोरै जनसंख्या देखिएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।
पुरुषको भन्दा महिलाको जनसंख्या ६ लाख ९ हजार ५ ले बढी
जनगणना अनुसार महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ पुगेकाे छ । यसअनुसार पछिल्लो १० वर्षमा महिलाको जनसंख्या १२ लाख ५५ हजार ७०६ जना र पुरुषको जनसंख्या १४ लाख ४२ हजार २७० जना थप भएको छ ।
यसअघि २०६८ सालमा महिलाको संख्या १ करोड ३६ लाख ४५ हजार ४६३ जना थियो भने पुरुषको १ करोड २८ लाख ४९ हजार ४१ जना रहेको थियो । महिलाको जनसंख्यामा ९ दशमलव २० प्रतिशत र पुरुषको जनसंख्यामा ११ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ । तर, अझै पनि पुरुषको तुलनामा महिलाको जनसंख्या ६ लाख ९ हजार ५ जनाले बढी छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend