साझा नेटवर्क
हुमाकान्त पोखरेल गुल्मी, कार्तिक ०९।
इस्मा गाउँपालिका –६ अम्मरपुरकी दुर्पता भण्डारी परिवारले आफ्नो छ रोपनी खेतमा असारको मध्यतिर धान रोपे। उक्त धान अहिले काट्ने समय हो ।
त्यसैले असोज २९ गते खेताला लगाएर धान काटे । लगत्तै कात्तिक ३० गतेबाट बेमौसमी बर्षा सुरु भयो । काटेको धान खेतमै डुब्यो । लगातार पाँच दिनसम्म खेतमा डुबेको धान कात्तिक ५ गतेबाट झाट्न सुरु भयो । तर धानको बाला चुडिएर र धान उम्रिएर अधिकाशं धान खेतमै नष्ट हुँदा भण्डारी परिवार चिन्तामा छ । ‘सामान्यतया सबै खेतमा ३० देखि ३५ मुरिसम्म धान फल्थ्यो ।’ दुर्पताले भनिन्, ‘यो बर्ष १० मुरिजति पनि फल्न गाहे छ ।’ धान उत्पादन कम हुनेभएपछि बजारका चामलमा निर्भर हुनुपर्ने बाध्यता सिर्जना भएको उनले राजधानीलाई बताइन्।
इस्मा अम्मरपुरकै गोपाल सुनारले पनि १८ रोपनी खेतमा धान रोपेका छन् । असारमा रोपेको धान अहिले काट्ने समय हो । यही समयमा पाँच दिनसम्म पानी प¥यो । जसले गर्दा बाला टुक्रिएर करिब ३० प्रतिशत धान खेतमै झरेको उनी बताउछन् । पानी पर्ने/नपर्ने कुनै टुंगो नभएकोले उनले आइतबारदेखि धान काट्न सुरु गरेका छन् । ‘गत बर्षसम्म एक सय रोपनी धान फल्थ्यो, तर यो बर्ष ६०–७० मुरी मात्र हुने अनुमान गरेको छु ।’ उनले भने, ‘पानीले दाना झर्दै गएकोले धान स्याहार्न सुरु गरेको छु ।’ पराल पनि चिसो भएकोले काम नलाग्ने उनले दुखेसो पोखे ।
धुर्कोट गाउँपालिका –५ वस्तु गान्टारीका कृष्ण प्रसाद भण्डारीले सात रोपनी खेतमा धान रोपेका छन् । साउनमा रोपेको धान अहिले दाना लाग्ने समय भएको छ । तर यहि समयमा परेको अविरल बर्षाका कारण अधिकाशं धान ढल्यो । जसले गर्दा उत्पादनमा कमी हुने उनी बताउछन् । ‘परार साल बाटो खन्दा कुलो पुरियो, गत बर्ष धान नै राम्रो फलेन ।’ चिन्तित हुँदै उनले भने, ‘यो बर्ष राम्रो भएको थियो, पानीले सखाप बनाइदियो ।’ सामान्य समयमा खेतमा ३० मुरिसम्म धान फल्ने भएपनि यो बर्ष धानको आशा नरहेको उनले गुनासो गरे । त्यसका साथै उनले आफुजस्ता थुप्रै किसानहरु बर्षाको कारण मर्कामा परेकोले सरकारबाट उचित राहत दिनुपर्ने माग गरे । अहिले कुनै राहत नपाए धानमा लगाएको लगानी पनि नउठ्ने उनले चिन्ता व्यक्त गरे ।
दुर्पता, गोपाल र कृष्णप्रसाद त प्रतिनिधिमुलक पात्र मात्रै हुन् । उनीहरुजस्ता धेरै किसान बेमौसमी बर्षाका कारण चिन्तित छन् । जिल्लाको अम्मरपुर, घ्यूबेसीँ, चैरासी, शान्तिपुर, मजुवा, खैरेनी, खज्र्याङ्ग लगायतका क्षेत्रमा धान खेती हुने गर्दछ । यी क्षेत्रहरुमा रामधान, खुमल ४, खुमल १, मकवानपुर १ लगायतका उन्नत जातका धान लगाइन्छ । त्यस्तै हंसराज, वर्णशंकर, शंकर लगायतका स्थानीय जातका पनि धान लगाइने गरिन्छ । उक्त धानमध्ये होचोमधयेको धान ढलेको प्रायः ढलेको छैन । तर हंशराज लगायतको धान बढी ढलेको छ । काटेको धान पानीमा डुबेर उम्रिएको छ भने नकाटेको धानको पनि बाला चुडिन थालेको छ । जसका कारण किसान मर्कामा परेका छन् ।
गुल्मीमा कुल आठ हजार ९१८ क्षेत्रफलमा बर्खे धानको खेती गरिएको थियो । जसमध्ये ४४५ हेक्टर क्षेत्रफलको धान किसानले स्याहारेका छन् । २९ हेक्टर क्षेत्रफलमा लगाइएको धानमध्ये कतिपय पहिरोले पुरिएको छ भने कतिपय ठाउँमा काटेको डुबानमा परेको छ भने ६६३ हेक्टर क्षेत्रफलमा गरिएको धान खेती पूर्णरुपमा ढलेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी युवराज ढकालले जानकारी दिए । जिल्लामा सबैभन्दा धेरै चन्द्रकोट गाउँपालिकामा ९७ हेक्टर धान खेतीमा बर्षाले क्षति पु¥याएको छ । अहिलेसम्म जिल्लामा ढलेर एक करोड १९ लाख र डुबेर १० लाख गरी कुल एक करोड २९ लाखको क्षति अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए ।
किसानको राहतको सम्बन्धमा प्रमुख भण्डारीले ज्ञान केन्द्रमा राहत कोष नभएको तर प्रदेशको कृषि मन्त्रालयले केही राहत दिनसक्ने सम्भावना रहेको बताए । ‘ज्ञान केन्द्रमा कोष छैन, राहतस्वरुप दिने रकम पनि छैन ।’ कार्यालय प्रमुख भण्डारीले राजधानीसँग भने, ‘विगतका बर्षमा जस्तै यस बर्ष पनि मन्त्रालयले राहत पठाउन सक्छ ।’
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend