साझा नेटवर्क
किरण अधिकारी, गुल्मी असौज २३ ।
गुल्मीमा जिल्ला प्रशासनले दसैंमा हुने सराय मेलालाई रोक लगाएको छ । परम्परा र संस्कृति माथि प्रतिबन्ध लगाउँदै गर्दा यता भने राजनिति पार्टीहरूले जति ठूलो सभा सम्मेलन गरेपनि त्यसलाई छूट दिएको छ । त्यस्ता कार्यक्रमहरूमा प्रसासनले कुनै रोक तोक लगाएको अवस्था छैन ।
बिभिन्न राजनीतिक दलका कार्यक्रमहरू वडा पालिका हुदै जिल्ला सम्म निरन्तर रूपमा भैरहेका नै छन भने ति कार्यक्रमहरुमा सयौँको संख्यामा नागरिक जमघट हुँदै आएको अवस्था छ । कोरोना संक्रमण दोस्रो लहर फेरि तिब्र गतिमा फैलिदै गएको अवस्थामा पार्टीका कार्यक्रम दिनानुदिन बढ्दै गएको छ ।
केहीदिन अगाडि जिल्ला सदरमुकाम तम्घासमा नेकपा एमालेका दुई खेमाले आफ्ना कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरेका छन । लगत्तै माओवादी केन्द्रले नयाँ सदस्यता वितरण र वडा भेलामा सयौं कार्यकता उतारेको थियो । पछिल्लो समय नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गतको वडा अधिवेशन र पालिका भित्रको अधिवेशनमा जिल्ला भित्रका प्रत्येक ठाउँमा कांग्रेसले निकै ठूलो भिड भड्काका साथ सयौं कार्यकता उतारेर अधिवेशन सम्पन्न गरेको थियो ।
बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई निरन्तरता दिँदै कोत–मन्दिरहरुमा परम्परादेखि चल्दै आएको सराय नाच लगायतको धार्मिक–संस्कृतिक परम्परामाथि लगाम लगाएको छ । राजनीतिक दलका तर्फबाट आयोजित भिडभाडजन्य कार्यक्रमलाई निर्वाध सञ्चालन हुन दिएको स्थानीय प्रशासनले सर्वसाधारणलाई भने दसैँ मनाउन पनि सीमित छुट दिएको छ ।
स्थानीय बासीका अनुसार राजनीति दलका कार्यक्रम दिनानुदिन बढ्दै जाने तर परम्परा र संस्कृति जगेर्ना गर्ने कार्यक्रममा रोक लगाउने निर्णय प्रति स्थानीय आक्रोशित भएका छन् । कोरोना जोखिम सबैका लागि भएको हुँदा आम नागरिकको स्वास्थ्य प्रती राजनीति भएको भन्दै खेद व्यक्त गरेका छन्।
के कोरोना जोखिम छैन भनेर घोषणा गरियोस नत्र भने कुनै पनि सार्वजनिक कार्यक्रम बन्द गरियोस् कोरोना भाइरस माथि पनि राजनीति गरिएको छ स्थानीयहरूको भनाई छ।
प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौड्यालद्वारा जारी सूचनामा निषेधाज्ञालाई निरन्तरता दिँदै यस वर्षको दसैँको सराय नाच समेतलाई रोक लगाउँदै उक्त सूचना पालना नगरेमा कानुन अनुसार कारबाही गरिने चेतावनी दिइएको छ । केही सरोकारवाला दशैंको सस्कृतिलाई नरोक्न सुझाव दिएका थिए भने राजनीति दलका नेताहरु मौन बसेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend