logo
  • शुक्रबार, साउन ८ २०८३

तम्घासमा ट्राफिक व्यवस्थापन गर्न विभिन्न निर्णयहरु पारित


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

सन्तोष महतारा, गुल्मी असाेज १५ ।
गुल्मीको सदरमुकाम तम्घासकाे ट्राफिक व्यवस्थापन गर्न चासो देखाइएको छ । दशै र तिहार जस्ता महान् चाडपर्वलाई लक्षित गरेर गुल्मीकाे सदरमुकाम तम्घासमा ट्राफिक व्यवस्थापन चासो देखाइएको हो ।
सदरमुकाम तम्घासमा चाडपर्वकाे अवसरमा यात्रुहरुकाे चाप अत्याधिक बढ्ने भएकोले सहज रुपमा सवारी आवतजावत गराई यात्रुलाई सहजता दिनका लागि सम्बन्धित सराेकारवालासँग छलफल गरेर विभिन्न निर्णयहरु पारित गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पाैडेल, सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब निरिक्षक कृष्ण प्रसाद आचार्य, रेसुङ्गा नगरपालिका १ का वडाध्यक्ष अखिलेश्वर पाण्डे, वडा नम्बर ८ का वडाध्यक्ष भरत भलामीसहित सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिसहितले गरेको छलफलमा तम्घास बजारमा ट्राफिक व्यवस्थापन गर्न विभिन्न निर्णयहरु पारित गरिएको हो ।

तम्घास बजारमा सवारी पार्किङ गर्दा सडकको एक छेउमा मात्र पार्किङ गर्ने (एकदिन एक छेउमा – अर्को दिन अर्को छेउ), बैंकका कर्मचारीहरुकाे सवारीसाधन निश्चित ठाउँमा पार्किङ गर्ने, स्कुल बस संचालन गर्ने समय अर्थात् बिहान ९ बजेदेखि साढे ११ बजेसम्म टिप्पर, ट्रक र ट्याक्टर संचालन हुन नदिने, सवारीकाे चाप व्यवस्थापन गर्न रेसुङ्गा नगरपालिकाका नगरप्रहरी पनि खटाउने, सवारीमा भाडादर देखिने गरेर टाँस्ने, सबैले मास्क अनिवार्य लगाउने, बजारमा समान लाेड र अनलाेड बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म नगर्ने, खाली टिप्पर र ट्रक बाख्रे छेडाकाे सडक प्रयाेग गर्ने र बजारमा प्रेसर हर्न निषेध गर्ने लगायतका निर्णय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख कृष्ण प्रसाद आचार्यले जानकारी दिए ।

छलफलमा गरिएका निर्णयहरु आइतबारदेखि लागू हुने छन् । छलफल कार्यक्रममा रेसुङ्गा नगरपालिका १ का वडाध्यक्ष अखिलेश्वर पाण्डेकाे अध्यक्षता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend