logo
  • आइतबार, असोज ११ २०८३

मलिका “पूर्ण संस्थागत प्रसुति गाउँपालिका” घोषणा


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी असोज ०७ ।
गुल्मीमै पहिलो पटक मालिका गाउँपालिका ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणा भएको छ । बिहिबार एक कार्यक्रमबीच जिल्ला समन्वय समिति प्रमुख लक्षमण पराजुलीले गाउँपालिकालाई ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणा गर्दै त्यसको प्रमाण पत्र गाउँपालिका अध्यक्ष रित बहादुर थापालाई प्रदान गरे ।
नेपाल सरकारको स्थानीय तह स्वास्थ्य कार्यक्रम संचालन निर्देशिका बमोजिम जिरोहोम डेलिभरी घोषणाका लागि आवश्यक मापदण्डहरु पुरा भएकोले गाउँपालिकालाई ‘पूर्ण संस्थागत प्रसुति गाउँपालिका’ घोषणा गरिएको हो । गत आर्थिक बर्ष ०७७/७८ मा गाउँपालिका भित्रका सबै वडाहरुका कुल ३३२ जना प्रसुति भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बसन्तराज भुसालले जानकारी दिए । जसमा २४२ जना गाउँपालिकाभित्रैका बर्थिङ्ग सेन्टरमा प्रसुति भएका छन् ।

गुल्मी अस्पतालमा ४२ जना, लुम्बिनी मेडिकल कलेज पाल्पामा २५ जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा १४ जना प्रसुति भएका छन् । मदाने गाउँपालिका –१ अग्लुङ्ग स्वास्थ्य चौकी, पुर्कोट स्वास्थ्य चौकी, श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, जोहाङ्ग स्वास्थ्य चौकी, अम्मरपुर स्वास्थ्य चौकी, युनाईटेड मिसन अस्पताल तथा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक÷एक जना प्रसुति भएका छन् ।

गाउँपालिकाबाट रिफर गरिएका गम्भिर प्रकृतिका बिरामीहरु तम्घास, पाल्पा र बुटबल तथा मालिकाभित्र ठेगाना भई अन्यत्र बसोबास गर्दै आएका गर्भवतीहरुको संख्या पनि तथ्याङ्कमा समावेश गरिएको स्वास्थ्य शाखा संयोजक भुसालले जानकारी दिए । तथ्याङ्कमा समावेश सबै महिलाहरुले चारपटक गर्भ जाँच गराएको गाउँपालिकाले जनाएको छ ।

कसरी सम्भव भयो त ?

‘पूर्ण संस्थागत प्रसुति गाउँपालिका’ घोषणाका लागि गाउँपालिकाले विभिन्न चरणमा योजनाबद्ध रुपमा काम गरेको थियो । गाउँपालिकामा आ.व. ०७४÷७५ सम्म चारवटा मात्रै बर्थिङ्ग सेन्टर थिए । त्यसपछि गत आर्थिक बर्षसम्म चारवटा बर्थिङ्ग सेन्टर थप भए । अहिले पालिकाका सबै वडामा बर्थिङ्ग सेन्टर छन् ।

मालिकाको वडा नम्बर ६ अर्जैमा रहेको गर्भवती महिलाको घरमा हरियो झण्डा राख्ने कार्यक्रम सबै वडामा विस्तार गरियो । गर्भवतीलाई एक क्यारेट अण्डा, सुरक्षित मातृत्वसम्बन्धि सडक नाटक, बहुनिकाय अन्तरक्रिया, विद्यालय स्वास्थ्य शिक्षा जस्ता कार्यक्रम संचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए ।

महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकामार्फत १८० आइरन र टिडी खोप लगाएको, वडा नम्बर २ को च्यानडाडाँ, वडा नम्बर ५ को छाप र वडा नम्बर ६ को अर्जैबेसी कुमालगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको, अत्यावश्यक अवस्थामा गर्भवतीलाई स्वास्थ्य केन्द्रसम्म जान–आउन निःशुल्क एम्बलेन्सको व्यवस्था गरिएकोर यस्तै कार्यले गर्दा पूर्ण संस्थागत प्रसुति पालिका घोषणा गर्न सफल भएको प्रमुख प्रशासकीय अधिृकृत भण्डारीले जानकारी दिए ।

मालिका गाउँपालिकामा आठवटा स्वास्थ्य चौकी, तीनवटा सामुदायिक स्वास्थ्य इकाई, र पाँच वेडको एउटा कोभिड अस्पताल र पाँचवटा एम्बुलेन्स छन् । पालिकामा कुल ५८ जना स्वास्थ्यकमी तथा ७७ जना महिला स्वास्थ्य स्वयम् सेविका रहेका छन् ।

गाउँपालिकाका प्रवक्ता शोभाखर गरीका अनुसार ०६० देखि ०७४ सम्म सातजना महिला र ११ जना नवजात शिशुको मृत्यु भएको थियो ।०७७ देखि अहिलेसम्म एकजना पनि महिला र नवजात शिशुको मृत्यु भएको छैन । त्यस्तै कम तौलको बच्चा जन्मनु, गर्भपतन, जन्मिएका बच्चाहरु स्वस्थ्य नहुनु, लामो समयको सुत्केरी व्यथाको कारण पाठेघर खस्नु जस्ता समस्या देखा पर्दथे ।

तर अहिले उक्त समस्याहरु धेरै कम भएको प्रवक्ता गिरीले बताए । कार्यक्रमकै अवसरमा पालिकाका सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम् सेविका, जिल्लास्थित पत्रकार लगायतलाई सम्मान पत्र तथा दोसल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पराजुलीले जिल्लामै पहिलोपटक पूर्ण संस्थागत गाउँपालिका घोषणा भएकोमा मालिकालाई बधाई दिए । स्वास्थ्यको क्षेत्रमा मालिकाले उत्कृष्ट काम गरेकोले यसलाई निरन्तता दिन उनले आग्रह गरे ।

साथै जिल्लाका सबैजसो पालिकाले समाजवाद उन्मुख कार्यक्रम गरिरहेकोले स्थानीय तह गठन भएदेखि सकारात्म परिवर्तन देएको उनले बताए । गाउँपालिका अध्यक्ष रित बहादुर थापाले पूर्ण संस्थागत प्रसुति गाउँपालिका घोषणा गरेपनि अझैपनि थुप्रै चुनौति रहेको प्रतिक्रिया दिए ।

बर्थिङ्ग सेन्टरका कर्मचारीलाई आवश्यकताअनुसारका तालिम प्रदान गर्नु, स्वास्थ्यकर्मीलाई पर्याप्त सेवा–सुविधा उपलब्ध गराउनु, जनचेता बृद्धि, कार्यक्रमको दीगोपना, सडकको कारण सेवा प्रवाहमा कठिनाई जस्ता पक्ष चुनौतिपूर्ण रहेको उल्लेख गरे । तर त्यस्ता चुनौतिहरुको सामना गर्दै सकेसम्म छिटो सेवा प्रवाह गर्ने काममा गाउँपालिकाले काम गरिरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend