साझा नेटवर्क
अनिल खत्री, गुल्मी भदौ १५।
अबिरल वर्षासँगै पहिरो जाँदा गुल्मीको मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडक खण्डको सेउघामा सडक भासिएको छ । सडक छेउको ग्याभिङ्ग वाल सहित सडक भत्कीएर पहिरो गएपछि २ वटा घर समेत जोखिम बनाएको छ ।

राजमार्गको तम्घास सिलटारी खण्ड अन्र्तगत रेसुङ्गा नगरपालिका–४ सेउघामा पहिरोले कालोपत्रे सडकको आधा भन्दा धेरै भाग सडक भत्किएको छ । सडक भासिए पहिरो गएपछि यात्रा गर्न जोखिम बनेको छ ।
अहिले एक तर्फ रुपमा सवारी साधनहरु आवत जावत गरेका छन् । तर अरु धेरै भाग चर्कीएकाले थप पहिरो जानसक्ने जोखिम उत्तिकै रहेको छ ।सडकसँगै नजिकै रहेका नेत्र कुँवर, नर्मदा कुँवरको घर जोखिम बनेको रेसुङ्गा नगरपालिका वडानम्बर–४ का वडाअध्यक्ष बिजय मरासिनीले बताए । जोखिममा परेका घरमा मानिसहरु अहिले घरमै बस्दै आएपनि अन्यत्र सार्नुको बिकल्प नरहेको वडाअध्यक्ष मरासिनीले बताए ।

पहिरोले सडक भत्किएपछि सिङ्गो भिरनै देखिएकाले डरलाग्दो दृश्य देखिएको छ । पहिरोले सडकको अरु भाग पनि भत्किने हो कि भनेर नजिकै रहेका घरका मानिसहरु त्रसित बनेका छन् ।गत वर्ष सोही स्थानमा सडक थोरै मात्रमा चर्कीएको थियो तर त्यसैमाथी थप कालोपत्रे गरेर टालिएको थियो ।
मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडकको २८ किलोमिटर सडक कालोपत्रे रहेको छ । सडकका अन्य स्थानमा पनि पहिरोले दैनिक जसो दुख दिने गरेको छ ।यो सडक हुँदै गुल्मी जिल्ला क्षेत्रनम्बर २ का अधिकांश स्थान र छिमेकी जिल्ला बाग्लुङसम्म सवारी जाने गर्दछन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend