साझा नेटवर्क
सजिना मोक्तान,टोकियो साउन २५ ।
३२ औं संस्करण ग्रीष्मकालीन टोकियो ओलम्पिकमा सहभागिता जनाउन आउनुभएका पत्रकारद्धय नेपाल टेलिभिजन अंग्रेजी न्युज विभाग प्रमुख तथा खेलकूद पत्रकार मन्चका केन्द्रीय अध्यक्ष देवेन्द्र सुवेदी र खेलकूद पत्रकार मन्चका पूर्व सचिव तथा कान्तिपुर पब्लिकेशनका राजु घिसिङसंग भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापान र नेपाल तामाङ समाज जापानको संयुक्त आयोजनामा आइतबार टोकियोको उएनो स्थित स्पाइस रोड रेष्टुरेण्टमा एक भेटघाट कार्यक्रमको आयोजना गरि स्वागत,सम्मान तथा भालाकुसारी गरिएको हो ।
उक्त कार्यक्रममा पत्रकारद्धयले टोकियो ओलम्पिकमा सहभागी भएर रिपोर्टिङ गर्दै गर्दाको अनुभव साट्नुका साथै नेपाली खेल जगत र खेलाडीहरुको भबिष्य, नेपाली खेलकूदका विविध पाटा पक्षहरुको बारेमा जानकारी दिदैं खेल क्षेत्रमा कम लगानी र खेल बुझेको खेलकूद विकास अधिकारीको आभाव रहेको र खेल क्षेत्रप्रति नेपाल सरकारको उदासीनताबारे चिन्ता व्यक्त गर्दै ओलम्पिकमा नेपालको सहभागिता हुनु नै महत्वपूर्ण रहेको बताए । ओलम्पिकमा सहभागी हुने खेलाडीको जुन सपना हुन्छ त्यस्तै खेलकूद पत्रकारिता कर्म गर्नेहरुको पनि खेल परिसरमा गएर खेलकूदको रिपोर्टिङ गर्ने सपना हुन्छ । विश्वकै ध्यान खिचेको टोकियो ओलम्पिकको हरेक खेलको समाचार नेपाल टेलिभिजन र कान्तिपुर सम्म पुर्याउन लागिपरेका छौं यहाँबाट सिकेको ज्ञान र प्रविधिलाई व्यवहारमा प्रयोग गर्न र सम्बन्धित निकायलाई घचघच्याउन लागिपर्ने पत्रकारद्धयको भनाई थियो ।
कोरोना महामारीको यो बेला पनि जापान सरकारको उच्च सुरक्षा सतर्कता र निति नियमप्रति खुलेर प्रशंसा समेत गरे । उक्त भेटघाट कार्यक्रममा नेपाल तामाङ समाजको तर्फबाट बरिष्ठ उपाध्यक्ष हिमाल लामा वाइबा, महासचिव बलराम लामा, कोषाध्यक्ष गिर बहादुर तामाङले परदेशमा संगठित संघसंस्थाका गतिविधि तथा जापानी संचार प्रविधी प्रणालीबारेको ज्ञान पनि मूलधारा पत्रपत्रिका र टेलिभिजनमा संचार गर्न आग्रह गर्दै आगामी यात्राको लागि शुभकामना दिए । त्यस्तै गरी बिशेष अतिथी तथा आदिवासी जनजाति महासंघका अध्यक्ष सन्जिव राईले ओलम्पिकमा नेपालको सहभागिताले गर्व महशुस भएको बताए । प्रमुख अतिथी तथा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेले पत्रकारद्धयलाई प्रगतिको लागि शुभकामना दिंदै घरदेशबाट आफन्त आइपुगेको झै लागेको भन्दै खुशी व्यक्त गरे ।
फोनिज जापानका अध्यक्ष फूर्वा शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रम शशीकला मेक्तानको स्वागत मन्तव्य र सजिना मोक्तानले संचालन गरेकी थिइन् । कार्यक्रममा अतिथि पत्रकारद्धयलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापान र नेपाल तामाङ समाज जापानको तर्फबाट खादा र मायाको चिनो प्रदान गरिएको फोनिज जापानका सदस्य तथा गायक सविनबावु मगरले जानकारी दिए । स्मरण रहोस् टोकियो ओलम्पिकमा २०२० मा ४ खेलका लागि नेपालका तर्फबाट ५ जना खेलाडीले सहभागिता जनाएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend