साझा नेटवर्क
ज्ञानेश्वर उपाध्याय, भैरहवा साउन १८ ।
भैरहवामा सवारीसाधन पार्किङलाई व्यवस्थित बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले संकेत चिन्ह कोर्ने काम (रोड मार्किङ) सुरु गरेको छ ।सोमबार बैंकरोडदेखि रोड मार्किङ सुरु गरिएको छ ।
ठुला गाडी र मोटरसाइकल तथा साइकल एकै ठाउँमा पार्किङ गर्दा समस्या देखिएपछि सडकमा गाडी/मोटरसाइकलको ब्लक छुट्टयाउन मार्किङ गरिएको जिल्ला टाफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक दिवस बहादुर जिसीले बताए ।
‘बैंकरोडस्थित भीम अस्पताल सडकमा पहिलेदेखि नै एकसाइडमा पार्किड हुँदै आएको छ, तर एउटै साइडमा गाडी र मोटरसाइकल पार्किड गर्दा अव्यवस्थित देखिन्थ्यो, ’उनले भने ।
सडकमा मार्किङ गरिसकेपछि सवारी चालकलाई पार्किङ गर्न र आवागमनमा पनि सहज हुने उनले बताए । मार्किङ गरिसकेपछि पनि पार्किङ अव्यवस्थित देखिए प्रहरीलाई पनि ट्राफिक नियम अनसार कारवाही गर्न समेत सहज हुने जिसीले बताए ।
पहिलो चरणमा सोमबार र मंगलबार बैंकरोडदेखि देवकोटाचोकसम्म मार्किङ गर्ने र दोस्रो चरणमा बर्मेलीटोलदेखि मिलनचोकसम्म गर्ने उनको भनाइ छ ।
नागरिकको के कस्तो प्रतिक्रिया आउँछ, सोही आधारमा निर्णय गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही अगाडी बढ्ने प्रमुख जिसीले बताए ।
पार्किङलाई थप व्यवस्थित बनाउन रोड मार्किङ कार्यको थालनी गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब निरीक्षक दामोदर मल्लले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend