साझा नेटवर्क
अनिल खत्री, गुल्मी साउन १३।
गुल्मीमा जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । बुधवार बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका शान्तिपुरबाट तम्घास आउँदै गरेको लु १ ज ४५५९ जीप मुसिकोट नगरपालिका वडानम्बर–४ स्थित दोभान भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी घटनास्थलमै ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मृत्यु हुनेहरुमा चन्द्रकोट गाउँपालिका वडानम्बर– ५ हरेवा बस्ने ४४ वर्षका रेशम कार्कि, चन्द्रकोट–४ शान्तिपुर घर भएका हरेवामा होटल गरि बस्ने ४३ वर्षका तेजबहादुर खत्री र रेसुङ्गा नगरपालिका वडानम्बर–२ बाख्रेछेडा बस्ने ६२ वर्षकी सुनिता बिक रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् भने ३ जना समान्य घाइते भएका छन् । गम्भीर घाइते हुनेहरुमा चन्द्रकोट–६ हरेवा बस्ने २० वर्षकी बिनिता परियार, चन्द्रकोट–८ मजुवा बस्ने ४५ वर्ष बमबहादुर बिक( चालक) चन्द्रकोट–४ शान्तिपुर बस्ने ३९ वर्षका गगन क्षेत्री, चन्द्रकोट–८ मजुवा बस्ने ४५ वर्षका सुनिल बिक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
उनिहरुको थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । समान्य घाइते ३ जना चन्द्रकोट–७ दमुका बस्ने २३ वर्षकी मुना भण्डारी, रेसुङ्गा नगरपालिका वडानम्बर–२ घर भएकी २३ वर्षकी रमिला भण्डारी र चन्द्रकोट–७ रूपाकोट बस्ने ३३ वर्षका गोकुल भण्डारी रहेका छन् ।
उनिहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेको जीप सडकबाट करिब ५ सय मिटर तल खसेको छ । दुर्घटना के कारणले भएको हो भन्ने बारे भने कारण खुलेको छैन् ।



© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend