साझा नेटवर्क
सन्तोष महतारा, गुल्मी साउन ०८ ।
गुल्मीमा सम्बन्ध बिच्छेदका लागि पुरुषका ३३ वटा मुद्दा दर्ता भएका छन् । गुल्मी जिल्ला अदालतमा सबैभन्दा धेरै सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका मध्ये पुरुषका पनि ३३ वटा मुद्दा रहेको गुल्मी जिल्ला अदालतका श्रेष्तेदार उपसचिव भिम प्रसाद भुसालले जानकारी दिए । जसमध्ये १४ वटा मुद्दा फर्छ्याैट भएका छन् ।
गुल्मी जिल्ला अदालतमा आर्थिक वर्ष २०७७/०७८ मा कुल नयाँ ३ सय ९४ थान मुद्दा मध्ये सम्बन्ध बिच्छेदका १ सय ९४ थान मुद्दा दर्ता भएका छन् । त्यस्तै सम्बन्ध बिच्छेदका लागि महिलाले दर्ता गरेका मुद्दाको संख्या १ सय ६१ थान रहेका छन् । जसमध्ये १ सय २६ थान मुद्दा फर्छ्याैट भएका छन् ।
गुल्मी जिल्ला अदालत गुल्मीले मुद्धा तथा अन्य विषयको लक्ष्य प्रगती पत्रकारसँग शुक्रबार समिक्षा कार्यक्रम गर्दै सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०७७/०७८ काे लक्ष्य प्रगति सार्वजनिक गरिएको गुल्मी जिल्ला अदालतका श्रेष्तेदार उपसचिव भुसालले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरी आएका १ सय ६६ थान मुद्दा र नयाँ दर्ता भएका ३ सय ९४ थान मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७७/७८ मा ३ सय ६४ थान मुद्दा गर्ने लक्ष्य रहेकोमा लक्ष्य भन्दा बढी ३ सय ७१ थान मुद्दा फर्छ्याैट भएका छन् । यो लक्ष्यको १०२.२० प्रतिशत मुद्दा फर्छ्याैट हो ।
गत असार मसान्तसम्म जम्मा लगत ५ सय ६० थानमा ३ सय ७१ थान मुद्दा फर्छ्याैट भई १ सय ८९ थान मुद्दा वाँकी रहेको छ बाकी मध्ये १ वर्ष नाघेका मुद्दा संख्या २ थान रहेकाे गुल्मी जिल्ला अदालतका श्रेष्तेदार उपसचिव भुसालले बताए । अहिले अदालतमा १८ महिना नाघेका कुनै पनि मुद्दा छैनन् ।
दर्ता भएका मुद्दा मध्ये सरल मार्ग समूहमा ३ सय २९, सामान्य मार्गमा ६४ र विशेष मार्ग समूहमा १ थान मुद्दा दर्ता हुन आएकाे अदालतले जनाएकाे छ । थुनुवा मुद्धाकाे सख्या ५६ थान रहेकोमा २८ थान फर्छ्याैट भई २८ थान बाँकी रहेको अदालतले जनाएको छ ।
गुल्मी जिल्ला अदालतकाे अभिलेख शाखामा २१ हजार ७ सय ९२ थान मिसिल रहेका छन । मिसिल भनेको फाइल हो । करीव १३ हजार मिसिल कम्प्युटरमा प्रविष्ट गरिएको छ । कार्ययोजना बमोजिम कागज सडाउने काम सबै सम्पन्न भएको पनि अदालतले जनाएको छ ।
फैसला कार्यान्वयन तर्फ जिम्मेवारी सहित आएका अघिल्लो आर्थिक वर्षका २७ थान र नयाँ दर्ता भएका ४५ थान गरी जम्मा लगत ७२ मध्ये असार मसान्त सम्म लक्ष्य अनुसार ५३ थान फर्छ्याैट भएर जम्मा १९ थान मुद्दा बाँकी रहेकाे पनि अदालतका श्रेष्तेदार उपसचिव भुसालले जानकारी दिए ।
त्यस्तै गुल्मी जिल्ला अदालतले फैसलाकार्यान्वयन तर्फ दण्ड जरिवाना गरी अघिल्लो आर्थिक वर्षकाे १ करोड १६ लाख २९ हजार ९ सय ६५ रुपैयाँ ५५ पैसा र नयाँ वर्ष ५ करोड २६ लाख १४ हजार ८ सय ४७ रुपैयाँ ५० पैसा गरी कुल लगत ६ करोड ४२ हजार ४४ हजार ८ सय १३ रुपैयाँ ५ पैसा बाट जरिवाना १९ लाख २१ हजार ४ सय ५४ रुपैयाँ ३६ पैसा फर्छ्याैट गरेको छ भने ६ करोड २३ लाख २३ हजार ३ सय ५८ रुपैयाँ ६९ पैसा बाँकी रहेको गुल्मी जिल्ला अदालतले पत्रकारसँगकाे कार्यक्रममा जानकारी गराएको छ ।
साथै कैद तर्फ जिम्मेवारी सरी आएको लगत ४ सय ३७ बर्ष ५ महिना २६ दिन र नयाँ वर्षको ४ सय ९१ वर्ष ३ महिना ६ दिन गरी जम्मा लगत ९ सय २८ वर्ष ९ महिना २ दिन रहेको थियो । जसमध्ये मध्ये ४ सय ७१ वर्ष ५ महिना १ दिनकाे कैद फर्छ्याैट भएको छ भने बाँकी कैद ४ सय ५७ बर्ष ४ महिना १ दिन बाँकी रहेको अदालतले जनाएको छ ।
दण्ड जरिवानाको लगत सबै सफ्टवेयरमा प्रविष्ट गरिएको अदालतले जानकारी दिएको छ । वार्षिक कार्ययोजनामा उल्लेख भएका व्यवस्थापकिय कार्य, अन्य समितिहरुको बैठक¸परामर्श लगायतका सबै कार्यहरु तोकिएको समयमा सम्पन्न गरेको अदालत श्रेष्तेदार उपसचिव भिम प्रसाद भुसालले बताए ।
अदालतको लगत लागेका र असुल हुन बाँकी रहेका व्यक्तिहरुलाई सरकारी सेवा सुविधा रोक्का राख्न सम्वन्धित निकायमा पत्राचार समेत गरिएको छ । अदालतको दैनिक काम वयान¸वकपत्र¸पत्राचार लगायतका सबै कामहरु कम्प्युटर मार्फत गर्ने गरिएको पनि अदालतले जनाएकाे छ ।
असहाय तथा थुनुवा मुद्धाहरुमा वैतनिक कानून व्यवसायी नियुक्त गरी असहाय तथा थुनुवाको तर्फबाट निशुल्क रुपमा वकपत्र तथा वहस पैरवी गरी प्रतिरक्षा गरि दिने एवं वैतनिक वकिल बाट साप्ताहिक रुपमा कारागार भ्रमण हुने गरी काममा अधिकतम प्रयोग गरिएको अदालतले जनाएको छ ।
अदालतमा स्थापना गरिएको निशुल्क कानुनी सहायताले मेलमिलाप गराउनुका साथै असहाय, अशक्त तथा थुनुवा मुद्दाका लागि सजिलो गराउने अदालतको ठहर छ । अदालतले काेराेनाका कारण गरिएको लकडाउनकाे समयमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर काम गरेको थियो । असार महिनामा मात्र ५९ थान मुद्दा फर्छ्याैट भएको अदालतले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend