साझा नेटवर्क
रुपन्देही, असार २०।
नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चार माध्यम सम्बन्धी विधेयक पुर्नलेखनको माग गर्दै मुख्यमन्त्री शंकर पोखरेल लाई ज्ञापन पत्र बुझाएको छ ।
आईतबार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले लुम्बिनी प्रदेशका प्रमुख सचिव भरतमणि सुवेदी मार्फत मुख्यमन्त्री लाई ज्ञापनपत्र बुझाएका हुन ।
मुख्यमन्त्री शंकर पोखरेल संघीय राजधानी काठमाडौं भएकाले प्रमुख सचिवलाई ज्ञापनपत्र बुझाइएको महासंघले जनाएको छ ।
लुम्बिनीका ११ जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारी मार्फत र रुपन्देही शाखाले मुख्यमन्त्री कार्यालयमै गएर ज्ञापनपत्र बुझाएका हुन्। सञ्चार विधेयकको प्रस्तावना देखि नै प्रेस स्वतन्त्रतालाई अकुंश लगाउने खालका प्रावधान राखेर नियन्त्रण गर्ने खोजेको भन्दै प्रदेश सभाबाट फिर्ता गरी पुनर्लेखन गर्न महासंघले माग गरेको छ।
यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यलाई प्रदेश महासंघले ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्र बुझ्दै सुवेदीले मुख्यमन्त्री लाई प्राप्त ज्ञापनपत्र बुझाउने प्रतिबद्धता जनाए।
‘संविधानले ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रताको मर्म र भावना लाई समेत वेवास्ता गरी विधेयकमा सञ्चार माध्यम प्रकाशन–प्रसारणमा रोक लगाउने, आचार संहिता उल्लंघनमा कारवाही गर्ने, सञ्चारकर्मी लाई रजिष्ट्रारले ६ महिनादेखि एक वर्षसम्म कैद सजाय तथा जरिवाना गर्न सक्ने प्रावधान राखिएको छ।
जुन पत्रकारिताको मूल्य, मान्यता र संविधान विपरीत छ,’ महासंघले बुझाएको ज्ञापनपत्रमा भनिएको छ। विधेयक जस्ताको तस्तै पारित गराउन खोजे आन्दोलनमा उत्रने महासंघले चेतावनी दिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend