साझा नेटवर्क
कमल पौडेल
१५, असार,बागलुङ ।
बडिगाड गाउँपालिकाको केन्द्र समेत रहेको ग्वालीचौरमा विगत १३ दिन देखि अवरुद्ध विद्युत सुचारु भएको छ। लब्दिखोला लघुजलविद्युत परियोजनाको भत्किएको नहर मर्मत पछि विद्युत सुचारु भएको हो। खार, खौलार बजार क्षेत्रमा बैकल्पिक रुपमा प्रयोग भैरहेको बडिगाड लघुजलविद्युत परियोजनाको विद्युत केहि दिन अगाडि आएपनि टेलिकमको टावरमा विद्युत नभएको कारण ग्वालीचौर क्षेत्र टेलिफोन सम्पर्क विच्छेद भएको थियो। लब्दिखोला लघुजलविद्युतको परियोजनाको विद्युत सुचारु भएसंगै ग्वालीचौरको टेलिफोन संपर्क सुचारु भएको छ भने विद्युतका कारण अवरुद्ध सवै व्यवसाय सुचारु भएका छन्।
बडिगाड गाउँपालिकाको ३ लाख ५० हजार र परियोजनाको ३ लाख गरि कुल ६ लाख ५० खर्चमा नहर मर्मत गरि सुचारु गरिएको मर्मतको नेतृत्व गरिरहनुभएको स्थानिय नविन कुँवरले जानकारी दिनुभएको छ। पहिरोले बगाएको सो नहर निर्माणको लागि कुँवरकै नेतृत्वमा २६ जना कामदारहरुलाई दैनिक १२ घण्टा काममा खटाइएको थियो। ५ सय ५० घर वढि उपभोक्ताले उपयोग गर्ने सो ५६ किलोवाट क्षमताको विद्युत २०५९ साल देखि सञ्चालनमा आएको हो।
फोटोः निर्माणाधिन नहर

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend