logo
  • आइतबार, असोज ११ २०८३

मदाने गाउँपालिकाको प्राथमिकतामा कृषि र पशुपालन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल,गुल्मी असार १०।
गुल्मीको मदाने गाउँपालिकाको प्राथमिकतामा कृषि र पशुपालन परेको छ। गाउँपालिकाका अध्यक्ष दान बहादुर खत्रीले बुधबार नवैँ गाउँसभामा आर्थिक बर्ष २०७८/७९ को लागि पेश गरेको नीति तथा कार्यक्रममा कृषि र पशुपालन प्राथमिकतामा परेको हो ।
नीति तथा कार्यक्रम बुधबार नै गाउँसभाबाट सर्वसम्मत रुपमा पारित भएको छ। गाउँपालिकाले कृषि र पशुको व्यवसायीकरणमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ। विभिन्न गैरसरकारी संस्थासँगको सहकार्यमा बाख्रा विकास तथा कृषि विकास कार्यक्रमहरु संचालन गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने नीति लिइएको छ ।

मदाने गाउँपालिकाले स्थानीय तथा राष्ट्रिय महत्वका खाद्य र पोषण सुरक्षामा टेवा पु¥याउने खाद्य वस्तुको उत्पादन गरी कृषि उत्पादन केन्द्रको स्थापना गर्ने लक्ष्य लिएको छ । मदानेले सामुहिक रुपमा कृषि खेती गर्ने कृषकहरुलाई एकीकृत रुपमा प्राविधिक सहयोग गर्ने, कृषिमा आधारित सहकारी पसल संचालन गर्ने, एक घर–एक करेसाबारी कार्यक्रम संचालन गर्ने तथा गरिबीको रेखामुनि रहेका तीन हजार घर–परिवारलाई उन्नत जातका बोका, बाख्रा तथा खोर सुधारका लागि अनुदानको व्यवस्था गर्ने जनाएको छ ।

कृषिको उत्पादकत्वमा बृद्धि गर्नको लागि मल, बिउ, कृषि औजार लगायतका सामग्री खरिदमा अनुदान उपलब्ध गराउने, कृषि उत्पादनलाई बजारसम्म पु¥याउनको लागि थप अनुदानको व्यवस्था गर्ने लगायतका कार्यक्रम मदानेको नीति तथा कार्यक्रममा समेटिएका छन् । विपन्न परिवारका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनको लागि निःशुल्क ड्रेश उपलब्ध गराउने, जनज्योती क्याम्पसमा ‘छोरीबुहारी उच्च शिक्षा कार्यक्रम’ संचालन गर्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले उत्कृष्ठ कर्मचारीलाई सम्मान गर्ने, सबै आर्थिक कारोबार बैङ्किक प्रणालीमार्फत संचालन गर्ने, समुदाय–प्रहरी साझेदारी कार्यक्रम संचालन गर्ने, अतिविपन्न र असहायहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, फुलखेतीमा प्रोत्साहन गर्ने तथा बालमैत्री स्थानीय शासन व्यवस्था लागु गर्ने गाउँपालिकाका अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रमलाई कार्यान्वयनको लागि गाउँपालिकाले ५४ करोड ७७ लाख ९० हजार ७२५ बराबरको बजेट पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बुधबार नै पेश गरेको बजेट सर्वसम्मतले पारित भएको हो । पारित गरिएको रकममध्ये २२ करोड पाँच लाख सशर्त अनुदान रहेको छ ।

गाउँपालिकाको विकास र प्रशासनिक खर्चतर्फ बिनियोजन गर्नुपर्ने २३ करोड १४ लाख ९६ हजार मध्ये चालुतर्फ पाँच करोड ५१ लाख रहेको छ । त्यसैगरी पुँजीगत कार्यक्रमतर्फ १६ करोड १४ लाख १७ हजार बिनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend