साझा नेटवर्क
गुल्मी, असार ७ ।
गुल्मीका लोक गायक हरि खत्री लुम्बिनी प्रदेशमा लोकगीत प्रतियोगितामा प्रथम भएका छन् । सोमबार विश्व संगीत दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजनामा प्रदेश स्तरीय भर्चुअल लोकगीत प्रतियोगिता सम्पन्न भएको थियो ।
प्रतियोगितामा १२ जिल्लाका २२ जना प्रतिस्पर्धीका बिचमा भएको प्रतियोगितामा गुल्मीका हरी खत्री प्रथम हुँदै नगद ११ हजार पुरस्कार, प्रमाणपत्र र मायाको चिनो हात पारेको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए ।
प्रतियोगितामा दाङका राम सिंह विश्वकर्मा द्वितीय, पाल्पाकी यशोधरा कार्कीले तृतीय, रोल्पाकी बिनिता पुन मगर सान्त्वना भएका थिए । प्रतियोगिले क्रमश नगद ७ हजार, ५ हजार र ३ हजार नगद प्राप्त गरेका छन् । यस्तै बर्दियाकी योगमाया घर्ती र रूपन्देहीका विधान कार्कीले प्रोत्साहन पुरस्कार प्राप्त गरेकाछन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका लुम्बिनी प्रदेश अध्यक्ष डिल्ली नारायण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजी, पूर्व अध्यक्षहरू अम्मर बिरही गुरुङ, प्रजापति पराजुली, दुर्गा रायमाझी, चन्द्र शर्मा लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा निर्णयकको रुपमा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर बिरही, पूर्व अध्यक्ष चन्द्र शर्मा, बरिष्ठ उपाध्यक्ष रिता थापा मगर रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend