logo
  • आइतबार, असोज ११ २०८३

बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी चैत्र २९ ।
इस्मा गाउँपालिकाले बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । गाउँपालिकाले वडा नम्बर १, २ र ६ का नागरिकलाई सदरमुकाम तम्घासस्थित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र वडा नम्बर ३, ४ र ५ का नागरिकलाई इस्मा मैदानमा रहेको बैंक अफ काठमाडौबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो ।

तत्कालिन अवस्थाका गाउँ विकास समिति अर्थात हालका वडा कार्यालयबाट नगद भत्ता वितरण गर्दा अनियमितता हुने भएपछि सरकारले बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरणको अवधारणा ल्याएको थियो । त्यसैलाई कार्यान्वयन गर्दै इस्मा गाउँपालिकाले दुई बैंकसँग सम्झौता गरी भत्ता वितरण गरिरहेको गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख बलाराम खनालले जानकारी दिए ।

‘राज्यको नीति र अवधारणाअनुसार भत्ता वितरण काममा खटिएका छौं ।’ खनालले भने, ‘बैंकबाट भत्ता वितरण गर्दा अनियमितता हुने सम्भावना धेरै कम छ । गाउँपालिकामा विभिन्न शिर्षकमा सामाजिक सुरक्षा भत्ताका कुल लाभग्राही तीन हजार ५३ जना रहेका छन् ।

जसमध्ये ७० बर्षभन्दा माथिका ज्येष्ठ नागरिक एक हजार ३५७ जना छन् । उनीहरुले मासिक तीन हजारका दरले एक चौमासिकमा १२ हजार प्राप्त गर्दछन् । दलित ज्येष्ठ नागरिक ३२९ छन्, उनीहरुले मासिक दुई हजार प्राप्त गर्ने खनालले बताए । ज्येष्ठ नागरिक एकल महिला ३३१ छन् ।

उनीहरुले मासिक दुई हजार, ४११ जना विधवाले मासिक दुई हजार, पूर्ण अपाङ्ग ५९ जनाले मासिक तीन हजार, ख वर्गका १३१ जना अपाङ्गले मासिक एक हजार छ सय तथा ४३५ जना दलित बालबालिकाले मासिक चारसय प्राप्त गर्ने शाखा प्रमुख खनालले जानकारी दिए । यो चौमासिकमा कुल दुई करोड ६१ लाख ८३ हजार ९६० रुपैँया खर्च हुने खनालले बताए ।

भत्ताले सहज, बुझ्न सास्ती

इश्मा गाउँपालिका –१ की जानुका महत दुई छोरीसहित घरमा छिन् । छोरीको पढाई खर्च तथा दैनिकीको लागि खर्चिने अन्य रकम पनि उनले एकल भत्ताबाट चलाउदैँ आएकी छिन् । ‘राज्यले खर्च दिएको छ र दैनिकी चलेको छ ।’ उनले भनिन्, ‘यसमा पनि केही रकम बढाइदिए ठिक हुन्थ्यो ।’ तर पहिले–पहिले गाउँबाटै बुझ्दै आएको रकम सदरमुकाम आउदा–जाँदा भने केही रकम खर्च भइसक्ने उनको भनाई छ ।

इस्मा –१ कै रामकुमारी शारुले आफ्नो मात्रै आठ हजार भत्ता बुझिन् । मासिक दुई हजारका दरले पाउने भत्ताले नुन, तेल, चामल लगायतका दैनिक जिवनमा आवश्यक खाद्यान्न किन्ने उनी बताउछिन् । ‘भत्ताले घरखर्च चलेको छ, तर बुझ्नको लागि तम्घास आउनुभपर्ने भयो ।’ उनले भनिन्, ‘गाउँमै बैंक पुगे सजिलो हुन्थ्यो ।

अर्की स्थानीय उषा पन्थीले पनि सरकारले दिएको सामाजिक सुरक्षा भत्ताले लक्षित वर्गलाई धेरै सहयोग पुगको बताइन् । आगामी दिनहरुमा भने बैकिङ्ग सेवा टोल–टोलमै पु¥याउनुपर्ने उनको बुझाई छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, तम्घास, उदिनढुङ्गा शाखाका प्रमुख सरोज पोखरेलले सम्बन्धित लाभग्राही वा उसले हकवाला तोकेको व्यक्तिबाहेक अरुले भत्ता लैजान नमिल्ने बताए ।

त्यसका साथै बैंकबाट भत्ता वितरण गर्दा आवश्यक रकम मात्र झिक्न सकिने र बैंकमा रहेको बाँकी रकमको ब्याज पनि प्राप्त हुने भएकोले लाभग्राहीलाई थप फाइदा हुने बताए । आगामी दिनमा बैंकले इस्मा गाउँपालिकाको टोल–टोलमा पुगेर भत्ता वितरण गर्ने पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend