साझा नेटवर्क
कमल पौडेल, बागलुङ्ग चैत १८ ।
बागलुङ्गको बडिगाड गाउँपालिका २, खर्वाङमा नागरिक आरोग्य सेवा केन्द्र उद्घाटन भएको छ। सो सेवा केन्द्रको उद्घाटन गर्दै बडिगाड गाउँपालिकाका प्रमुख मेहरसिंह पाइजाले स्वस्थ जिवन जिउनको लागि सहि आहार र विहार हुनुपर्ने भन्दै त्यसको लागि सेवा केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ।

प्राकृतिक जडिवुटिले रोगको निदान गर्ने भन्दै अध्यक्ष पाइजाले सेवा केन्द्र व्यवस्थित गराउन गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। त्यस्तै कार्यक्रममा नेकपा (एमाले) का सुनिल शेरचन, नेपाली काग्रेसका डालेश्वर भुसाल, वडा नं. २ का अध्यक्ष ढाल प्रसाद शेरचन लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

सो उद्घाटन कार्यक्रम धौलागिरि आयुर्वेद औषधालय बागलुङका व्यवस्थापन समितिका अध्यक्ष राजिव घिमिरेको अध्यक्षता, धौलागिरि आयुर्वेद औषधालयका प्रमुख डा. सरोज कुमार रायको स्वागत मन्तव्य तथा लेखा अधिकृत देव शर्माको सञ्चालनमा सम्पन्न भएको थियो।

यसै विच नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटनकै अवसर पारेर १ दिने वृहत निःशुल्क आयुर्वेदिक तथा वैकल्पीक चिकित्सा स्वास्थ्य शिविर खर्वाङमा सम्पन्न भएको छ। शिविरमा १ सय ५७ जना महिला तथा ७१ जना पुरुष गरि २ सय २८ जना विरामीहरुले सेवा लिएका छन्।
सो शिविरमा धौलागिरि आयुर्वेद औषधालय बागलुङका प्रमुख डा. सरोज कुमार राय, जैमिनि आयुर्वेद औषधालयका शाखा प्रमुख डा. लक्ष्मी प्रसाद शर्मा सहितको स्वास्थ्यकर्मिको टिमले चेक जाँच गरेको थियो।
चालु वर्षमा बागलुङ जिल्लामा २ वटा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्ने कार्यक्रम अनुसार बडिगाड गाउँपालिकामा केन्द्र स्थापना भएको हो।
जिल्लामै अर्को ताराखोला गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्ने कार्यक्रम रहेको धौलागिरि आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष राजिव घिमिरेले जानकारी दिनुभएको छ।
आज खर्वाङमा स्थापना भएको नागरिक आरोग्य सेवा केन्द्रमा १ जना कविराज, १ जना अभ्यंग कर्ता र १ जना सहयोगी गरि ३ जनाको दरवन्दि कायम गरिएको औषधालयले जनाएको छ। बडिगाड गाउँपालिकामा पहिलो पटक आयुर्वेद सेवा सुरु भएको भन्दै स्थानियले खुसि व्यक्त गरेका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend