साझा नेटवर्क
साझा नेटवर्क,१४ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकले पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामाबसेको बैठकले नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर, संविधानसभा सदस्य, पूर्वमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।
कांग्रेसले जोशीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चीर शान्तिको कामना सहित शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना समेत प्रकट गरेको छ ।
कांग्रेसले चैत १५, १६ र १७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, उक्त दिनहरुमा शोकका कार्यक्रम बाहेक पार्टीका अन्य औपचारिक कार्यक्रमहरु नगर्ने, चैत १७ गते मंगलबारका दिन केन्द्र तथा सबै जिल्ला कार्यालय बन्द गर्ने, १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोकसभाको आयोजना गर्ने कार्यक्रम निर्धारण गरेको छ ।
जोशीको नर्भिक अस्पतालमा उपचारको क्रममा शुक्रबार राति निधन भएको हो ।
गत फागुन १४ गते बिहान मस्तिकघात भएपछि जोशीलाई उपचारको लागि वीर अस्पताल हुँदै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । २०१९ साल असार ३ गते काठमाडौंमा जन्मिएका जोशी नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय बिताएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend