साझा नेटवर्क
एजेन्सी, पौष १ ।
कोरोना भाइरस (कोभिड– १९) विरुद्ध अर्काे अमेरिकी भ्याक्सिन प्रमाणीकरणको अन्तिम चरणमा पुगेको छ । अमेरिकी अधिकारीहरूले जनाएअनुसार अमेरिकाको मासासेच्युट्सस्थित औषधि निर्माता कम्पनी मोर्डनाले निर्माण गरेको भ्याक्सिन प्रयोगका लागि सुरक्षित र ९४ प्रतिशत प्रभावकारी देखिएको छ ।

अमेरिकामा खाद्यवस्तु र औषधिसम्बन्धी निर्णय गर्ने सरकारी निकाय (एफडिए) का विज्ञहरूले मोर्डना भ्याक्सिन परीक्षण नतिजाको विश्लेषणपछि ‘सुरक्षित र प्रभावकारी’ रहेको जनाएका छन् । एफडिएका अधिकारीका अनुसार यो भ्याक्सिन चाँडै नै अमेरिकामा आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त गर्ने दोस्रो भ्याक्सिन बन्न सक्छ ।
अमेरिकाले शुक्रबार मात्रै अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोन्टेक मिलेर निर्माण गरेको भ्यान्सिनलाई अपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । त्यससँगै अमेरिकामा सोमबारबाटै सर्वसाधारणका लागि भ्याक्सिन लगाउन (मास भ्याक्सिनेसन) सुरु भएको छ ।
अमेरिकामा आमभ्याक्सिनेसन सुरु भएको एक दिनपछि कोरोना भाइरस संक्रमणबाट आक्रान्त बनेको विश्व मानव समुदायका लागि यो अर्काे खुसीको खबर आएको हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा भाइरस संक्रमणबाट अहिलेसम्म तीन लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।
एफडिएले ५४ पेजमा समेटिएको मोर्डना भ्याक्सिन परीक्षणको नतिजालाई विश्लेषण गरेको छ । उक्त प्रतिवेदनमा उक्त भ्याक्सिनले मानव शरीरमा स्वास्थ्यसम्बन्धी विशेष खालको कुनै पनि समस्या नल्याएको देखाएको छ । भ्याक्सिनले कुनै पनि खालको गम्भीर खालको समस्या ल्याउने सम्भावना पनि निकै कम भएको जनाइएको छ ।
अमेरिकामा भ्याक्सिनलाई मान्यता दिनुअघि विज्ञहरूको टोलीले छलफल गर्नेछ । उक्त टोलीसँगै एफडिएका प्रमुखले स्वीकृति दिएपछि भ्याक्सिनले प्रयोगका लागि मान्यता पाउनेछ । कम्पनीले मान्यता प्राप्त गरेको २४ घन्टाभित्रै भ्याक्सिन उपलब्ध गराउन सुरु गरिने जनाएको छ ।
एफडिएले जनाएअनुसार ३० हजार मानिसमा गरिएको परीक्षणमा भ्याक्सिन ९४.१ प्रतिशत प्रभावकारी देखिएको छ । भ्याक्सिन लगाएपछि जरो आउने, टाउको दुख्ने, मसल्स र जोर्नी दुख्नेजस्ता सामान्य ‘साइडइफेक्ट’ भने देखिएको छ । एफडिएले गत साता फाइजर भ्याक्सिनलाई मान्यता दिनुअघि पनि यस्तै प्रकृतिको साइडइफेक्ट रहेको जनाएको थियो।
मोर्डना सन् २०१० मा स्थापना भएको कम्पनी हो । उसले विकास गरेको कुनै पनि उत्पादनलाई एफडिएले अहिलेसम्म मान्यता भने दिएको छैन ।
मोर्डनाले निर्माण गरेको यो भ्याक्सिन ढुवानी गर्न केही सहज छ । यो भ्याक्सिन माइनस २० डिग्री सेल्सियसमा ढुवानी गर्न सकिन्छ । त्यसको तुलनामा फाइजर भ्याक्सिनलाई ढुवानी गर्न केही मुस्किल छ । फाइजर भ्याक्सिनलाई ढुवानी गर्न माइनस ७५ डिग्री सेल्सियसको चिसो चाहिन्छ ।
फाइजरको जस्तै मोर्डना भ्याक्सिन पनि दुईपटक लगाउनुपर्नेछ । फाइजर भ्याक्सिनको दोस्रो डोज २१ दिनमा लगाउने गरिएको छ । मोर्डनाको भने पहिलो डोज लगाएको २८ दिनपछि मात्रै दोस्रो डोज लगाइनेछ ।
अमेरिकाको क्याम्ब्रिज मासासेच्युट्समा रहेको मोर्डनाले आफूले निर्माण गरेको यो भ्याक्सिनले प्रयोगका लागि अनुमति प्राप्त गरेको अवस्थामा एकैपटक धेरै डोज उत्पादन गर्न सकिने जनाएको छ । फाइजरले भने विभिन्न देशबाट आफूले निर्माण गरिरहेको भ्याक्सिन उत्पादन गर्न सुरु गरेको छ । उसले जर्मनी र बेल्जियममा पनि आफूले निर्माण गरेको भ्याक्सिन उत्पादन गर्न सुरु गरेको छ ।
अमेरिकाले मोर्डनासँग अहिले नै दुई सय मिलियन डोज किन्ने गरी सम्झौता गरिसकेको छ । क्यानडा सरकारले आफ्ना नागरिकका लागि आगामी मार्चसम्ममा दुई सय मिलियन डोज मोर्डना भ्याक्सिन उपलब्ध गराउने जनाएको छ । क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रयुड्युले मंगलबार यसै महिनाको अन्त्यसम्ममा एक लाख ६८ हजार डोज भ्याक्सिन उपलब्ध हुने जनाएका छन् ।
यस्तै, बेलायतले पनि यसअघि नै मोर्डन भ्याक्सिनको सात मिलियन डोज किन्ने गरी अर्डर गरेको छ । युरोपियन युनियनले गत महिना ८० मिलियन डोज मोर्डना भ्याक्सिन किन्ने सम्झौता सार्वजनिक गरेको थियो । उसले अझ थप ८० मिलियन डोज किन्न सक्ने जनाएको छ ।
यस्तै, जापानले पनि ५० मिलियन मोर्डना भ्याक्सिन किन्ने गरी सम्झौता गरेको छ । दक्षिण कोरियाले २० मिलियन र स्विट्जरल्यान्डले ७.५ मिलियन डोज मोर्डना भ्याक्सिन किन्ने गरी सम्झौता गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend