logo
  • सोमबार, असोज १२ २०८३

अमेरिकी विशेषज्ञद्वारा फाइजरको खोपलाई अनुमति दिन सिफारिस


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

काठमाडौं मंसिर २६ ।
अमेरिकामा मेडिकल विशेषज्ञहरुले फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)लाई फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति दिन सिफारिस गरेका छन् । बिहीबार एफडीएका विशेषज्ञहरुको २३ सदस्यीय बैठकले यो खोपको प्रयोगका लागि अनुमति दिन सिफारिस गर्ने निर्णय गरेको हो ।

यो खोपलाई बेलायत, क्यानडा, बहराइन र साउदी अरेबियाले यसअघि नै अनुमति दिइसकेका छन् । फाइजरको कोरोना खोपलाई एफडीएका खोप प्रमुखले आधिकारिकरुपमा अनुमति दिन बाँकी छ । अबको केही दिनमा नै अमेरिकामा फाइजरको कोरोना खोपले अनुमति पाउन सक्ने अपेक्षा गरिएको छ । कोरोना भाइरसका कारण अमेरिकामा बुधबार मात्र तीन हजारभन्दा धेरैको मृत्यु भएको थियो ।

एकैदिनमा मृत्यु हुनेको यो संख्या अमेरिकामा अहिलेसम्मकै उच्च हो । अमेरिकामा अहिलेसम्म कोरोनाबाट दुई लाख ९२ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । फाइजरले अमेरिकामा डिसेम्बरको अन्तिमसम्ममा ६४ लाख डोज खोप उपलब्ध गराउने तयारी गरिरहेको छ । एकजनालाई दुई डोज आवश्यक पर्ने भएकाले यो खोप करिब ३२ लाख मानिसलाई पुग्दछ ।

अमेरिकाको समग्र जनसंख्या ३३ करोड छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुका अनुसार सबैभन्दा पहिला अमेरिकाका दुई करोड १० लाख स्वास्थ्यकर्मीहरुलाई यो खोप प्रदान गरिनेछ । साथै दीर्घकालीन स्याहार केन्द्रमा बसोबास गर्ने जेष्ठ नागरिकहरुलाई खोपमा प्राथमिकता दिइनेछ । बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend