साझा नेटवर्क
गोरखा, मंसिर २३ ।
कोरोना भाइरस (कोभिड–१९) का कारण ९ महिना बन्द रहेको मनकामना मन्दिर मंसिर २८ देखि खुल्ने भएको छ । मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको सरोकारवालाको बैठकले आइतबारबाट मन्दिर र मन्दिरसम्म पुग्ने केवुलकार सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत्र ८ गतेबाट मन्दिर र केवुलकार बन्द गरिएको थियो ।

संस्कृति महाशाखाको धार्मिक स्थल सञ्चालन सम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड २०७७ अनुसार कार्यविधि बनाएर मन्दिर सञ्चालन गरिने समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले बताए । संस्कृति महाशाखाको मापदण्डलाई टेकेर मनकामना क्षेत्रलाइ कोभिड–१९ बाट सुरक्षित राख्न कार्यविधि तयार गरिसकेका छौ,’ उनले भने, ‘भक्तजनहरुले उक्त कार्यविधि अनिवार्य रुपमा पालना गर्नुपर्छ ।
कार्यविधि अनुसार भक्तजनहरु लाइनमा बस्दा तीन फिटको भौतिक दुरी कायम गर्नुपर्ने छ । मास्क अनिवार्य गरिएको गुरुङले बताए ।हाललाई भक्तजनहरु मन्दिरभित्र गएर पूजाआजा गर्न पाउने छैनन् । ‘मन्दिर खुलेपनि अहिलेलाई भक्तजनहरु भित्र गएर पूजाआजा गर्न पाउनुहुन्न, मन्दिर बाहिरैबाट दर्शन गर्ने हो ।
भक्तजनले ल्याउनु भएको फूल, प्रसाद पुजारीले भित्र लगेर चढाइदिने व्यवस्था भने हुन्छ,’ गुरुङले भने । मन्दिरमा बिशेष पूजाआजा नहुने र पशुपन्छीको बलि पनि नचढाइने उनले जानकारी दिए । मन्दिर र केवुलकार सञ्चालनका लागि समन्वय गरिदिन जिल्ला स्थित कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाइ पत्राचार गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
मन्दिर खुलेकै दिनदेखि केवुलकार पनि सञ्चालन हुने भएपछि आवश्यक मर्मत संभारको काम सुरु भएको मनकामना दर्शन प्रालिका नायव प्रवन्धक उज्वल शेरचनले बताए । ‘मर्मत संभारको काम लगभग सकिसकेका छौं, सप्टवेयर, हार्डवेयरको र सरसफाइको काम बाँकी छ, तीन दिनमा सबै काम सक्छौ,’ उनले भने । स्वास्थ्य सुरक्षा मापदण्डका लागि ‘स्टाण्डर अपरेसन प्रोसिजर (एसओपी)’ निर्माण गरिएको उनले जानकारी दिए ।
उनका अनुसार केवुलकारले साविकको भन्दा आधा प्रतिशत मात्र यात्रु बोक्ने छ । ‘यसअघि एउटा कारमा ६ जना यात्रु हुन्थे तर अब तीन जना मात्र राख्छौं, मास्क र सेनिटाइजर अनिवार्य गरेका छौं,’ शेरचनले भने । केवुलकारको मुख्य प्रवेशद्धारमा थर्मलगनबाट यात्रुहरुको ज्वरो नाप्ने व्यवस्था समेत गरिने उनले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend