logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मेली विकासका सूत्रधार चन्द को निधन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

चक्र चन्द,काठमाडौं मंसिर ०४ ।

गुल्मी जिल्लाको ईतिहासमा विकासको विजारोपण स्वरुप सडक सन्जाल,शिक्षा,खानेपानी लगाएतका थुप्रै जनहितका कामको सुरुवात गरेर जनताको बिच सदा सर्वप्रिय बन्न सफल नेता बैकुण्ठ बहादुर चन्दको निधन भएको छ । पिता रंगबहादुर चन्द र माता पवित्रा चन्दको कोखबाट वि.स. १९९० सालमा अग्लुंगमा जन्मनुभएका चन्द गुल्मी जिल्लाको आदर्श पुरुषको रुपमा परिचित हुनुहुन्थ्यो ।अग्लुंग जस्तो विकट र पिछडिएको क्षेत्रबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका चन्द जिल्लामा मात्र नभई राष्ट्रिय स्तरमा समेत आफूलाई चिनाउन सफल रहनुभएको थियो । उहाँ १३ वर्ष गुल्मी जिल्लाको सभापति र १० वर्ष राष्ट्रिय पंचायत सदस्य र ५ वर्ष राजपरिषद सदस्य बन्नु भएको थियो । लामो समयदेखी मृगौला रोगको बिरामी भै ललितपुरको निदान अस्पतालमा उपचार गराईरहनु भएका चन्दको बुधबार ८७ वर्षको उमेरमा निधन भएको हो । विकासका सन्दर्भमा राजनीति भन्दा जहिल्यै एककदम अगाडि हुनुपर्छ भन्ने मान्यता राख्ने चन्दले २०२५ देखी २०३८ सम्म लगातार १३ वर्ष गुल्मेली जनताको नेतृत्व गर्दै गुल्मीलाई पहिलोपटक तानसेन -रिडी – तम्घास सडकखण्ड मार्फत सडकसन्जालमा जोड्नुभएको थियो । सरकारी सेवा सुविधा नभएको अवस्थामा पनि जनताको मन जितेर जनताकै पौरख र मेहनतमा १३ वर्षसम्म जनश्रमदान गरि उक्त सडक निर्माण गर्न उहाँ सफल हुनुभएको थियो । बाटो नखन्न तानसेन र बुटवलका धनाढ्य व्यापारीहरुले उहाँलाई थुप्रै पैसा,घर घडेरीको प्रलोभन अनि धाक धम्की देखाए पनि आफु कतिपनि बिचलित नभई गुल्मेली जनताहरुलाई मोटर चढाएर बुटवल र पाल्पाबाट टाउकोमा नुन,तेल र रासन बोक्ने प्रचलन हटाउनुमा उहाँको अमुल्य योगदान रहेको छ ।

उहाँको निधनमा बिभिन्न राजनीतिज्ञ ,साहित्यकार,पत्रकार,कर्मचारी देखी सर्वसाधारणहरुले समेत दुख व्यक्त गरेका छन । सरकारले अब चन्दको योगदानको मूल्यांकन र कदर स्वरुप; उहाँ जीवित हुँदादेखीको एउटा अपुरो सपना तानसेन – तम्घास सडकखण्डको नाम “वैकुण्ठ मार्ग” नामाकरण गर्नमा सहयोग गरोस्, गुल्मेली जनताको विकासको असली नायकप्रति  भावपूर्ण श्रद्दान्जली ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend