साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी कार्तिक ८ ।
इस्माली समाज काठमाण्डौले इस्माका पहिरो पीडित परिवारलाई राहत प्रदान गरेको छ ।
इस्मा गाउँपालिका वडा नं १ र ४ का पहिरो पीडित ६० घर परिवार राहत स्वरुप नगद प्रदान गरिएको हो । प्रति परिवार ४५ सयका दरले २ लाख ७० हजार नगद प्रदान गरिएको समाजका कोषाध्यक्ष शिव खड्काले जानकारी दिए । हस्तिचौरका ४६ घर परिवार र दोहलीका १४ जनाले राहत पाएका थिए । असार ६ र १८ गतेको अविरल बर्षासंगैको पहिरोले हस्तिचौर र दोहलीमा मानवीय तथा थुप्रै भौतिक क्षति भएको थियो । अझै पनि कैयन घर परिवार छिमेक र जोखिमयुक्त घरमै बस्न बाध्य छन् । दशैको समयमा पहिरो पीडित परिवारको न्यूनतम आवश्यकता पुरा गर्ने उदेश्यले सहयोग गरिएको इस्मा समाजका उपाध्यक्ष गोपी पराजुलीले जानकारी दिए । उनले कोरोनाको समयमा गाउँमै आएर उद्धार र राहतको काम गर्न नसके पनि काठमाण्डौमा इस्माली समाजले नेतृत्व गरेर सहयोग संकलन गरेको पराजुलीले जानकारी दिए ।
राहत हस्तान्तरण गर्दै गाउँपालिका उपप्रमुख बिमला केसीले दशै पछि पहिरो प्रभावित परिवारसंग छलफल गरेर उपयुक्त स्थानमा पुर्नवासको काम सुरु गरिने बताइन् । ‘कोरोना कहरसंगैको प्राकृतिक बिपत्तीको सामना इस्मा गाउँपालिकाले ग¥यो,’उनले भनिन,‘अब पुर्नवासको काम अगाडी बढाउँछौ ।’ कार्यक्रममा स्थानीय नेता कार्यकर्ता र समाजसेवीहरुले पहिरो प्रभावितको अवस्थाको बारेमा कार्यक्रममा जानकारी दिए ।
इस्माली समाजले पहिरोपछि नेतृत्व गरेर विभिन्न संघसंस्था र व्यक्तिहरुसंग सहयोग संकलन गरेको थियो । समाजले इस्माको शैक्षिक तथा अन्य क्षेत्रमा विभिन्न रचनात्मक सहयोग गर्दै आएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend