logo
  • शनिबार, भाद्र २० २०८३

बढ्दो देखावटीपनले आफ्नो मौलिकतालाई नै बिर्साइ दिने चिन्ता


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

रमेश ढकाल,कतार ।
फेसबुक इन्स्टाग्राम ट्विटरको आजको यो आधुनिक दुनियाँमा हाम्रो रूपको अत्यनै महत्व हुने गरेको छ। एउटा समय थियो, हामी हाम्रो अनुहारलाई सुन्दर बनाउन मेकपमा निर्भर हुने गर्दथ्यौं। तर हिजो आज हाम्रा मोबाइल फोनमा हुनेगरेका विभिन्न एप्सहरुको सहयोगमा हामी आफ्नो अनुहारलाई चुट्किको भरमा चन्द्रमा जस्तै सुन्दर र चम्किलो देखिने बनाउन सक्छौं।
राम्रो देखिन खोज्नु या राम्रो देखिने प्रयास गर्नु पक्कै पनि नराम्रो होइन। तर समस्या के भयो भने आजभोलि हाम्रो जीबन वास्तविक नभएर ज्यादातर देखावटी जस्तो मात्र बन्दै गएको छ। वास्तविकतामा हामी उति सुन्दर नदेखिए पनि देखावटीका लागि भने हामीलाई सुन्दर देखिनु परेको छ। त्यस्तै हामी खुसी नभए पनि देखावटीका लागि भने हामीले खुसी भएको स्वाङ गर्नु परेको छ। हामी स्मार्ट नभए पनी देखावटीका लागि भने आफु स्मार्ट भएको स्वाङ गर्नु परेको छ। हामी धनवान् नभए पनि हामीलाई देखावटीका लागि धनवान् भएको स्वाङ गर्नु परेको छ। समग्रमा तपाईहाम्रा धेरैजसो गतिविधिहरु आजभोलि वास्तविक नभएर केवल देखावटीका लागि मात्र हुन थालेका छन्।

यसरी नाटकिय जीवन जिउने क्रममा, थाहै नपाई हामी हाम्रो वास्तविक जीवन भन्दा धेरै टाढा पुगिसकेका हुन्छौं। यसरी टाढा निस्कदा कहिलेकाँही हामी हाम्रो आफ्नो मौलिकता याने वास्तविकतालाई बिर्सन पुग्छौं। भनिन्छ छ नि, मिर्ग आफुसंगै भएको कस्तुरीलाई भेट्टाउन जङ्गल जङ्गल भौतारिएर हिंड्ने गर्छ रे। ’जङ्गल जङ्गलमा खोजी हिड्छ मिर्ग आफ्नो कस्तुरी, कति मुस्किल छ तय गर्न आफु देखी आफ्नो दुरी।’

सामाजिक सञ्जालमा हामी हाम्रा मोबाइल फोनहरुमा उपलब्ध विभिन्न एप्सहरुको सहयोगमा खिचिएका निक्कै आकर्षक तस्वीरहरु राखेर साथीभाइहरु माझ शेयर गरिरहेका हुन्छौँ, देखाइ रहेका हुन्छौँ। यसो गर्दै गर्दा हामीले समय समयमा आफ्नो मनलाई अर्थात आफुले आफुलाई ऐना देखाउन पनि अवश्यक छ। किनभने ऐनाले हामीलाई कहिल्यै धोका दिँदैन। न त यसले हाम्रो झुटो तारिब नै गर्छ नत लुकाउँन खोजेका कुराहरुलाई कवरअप नै गरिदिन्छ। ऐनाले हामीलाई सधैं हाम्रो असलि रुप देखाउछ। आफुलाई आफ्नो वास्तविक रुपसंग परिचय गराउछ। ऐनाले हाम्रा कमजोरीहरु देखाउँदछ र ति कमजोरीहरुलाई सुधार्न हौसला पनि प्रदान गर्दछ।

जब हामी आफु भित्र छिपेर बसेको कमजोरीहरुलाई ऐनामा देख्छौं, त्यतिखेर हामी भित्र एकप्रकारको असजिलो महसुस हुन्छ। तर विश्वास गर्नुहोस्, जब हामी ति कमजोरिहरुको सामना गर्छौं र तिनीहरूलाई सुधार गर्ने दिशामा काम गर्छौं, हाम्रो जीवनमा साँच्चैकै सकारात्मक परिवर्तन आउने छ।

देखावटी रुपमा त हामी दुनियाँलाई बेकुफ बनाउन सफल बनौँला तर खुदलाई र खुदा/ईश्वरलाई बेकुफ बनाउन सम्भव हुँदैन भन्ने कुरालाई भने हामीले कहिल्यै बिर्सनु हुँदैन। (स्रोतः लाइफ कोच गौर गोपाल दासजीको भिडियो सन्देश)।

रमेश ढकाल
भद्रपुर झापा (हाल दोहा, कतार)
[email protected]

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend