साझा नेटवर्क
-डा. डेभिड कुमार बस्याल ।
१. विकास के हो ?
पानी परेर ट्रेन स्टेसन चिप्लो भएको बेला रेड कार्पेट बिछ्याएर यात्रुहरुलाई सहज बनाउनु वा मुसलधारे पानी परिहेको बेलामा राष्ट्रिय राजमार्गमा सार्बजनिक बस १२०-१२५ किमी प्रतिघन्टाको रफ्तारमा दौडिरहेको छ । अनि बाटो यति राम्रो र सुरक्षित छ कि बसमा लगाएको टिभीमा बेलाबेलामा ड्राइभरले पनि समाचार हेर्न भ्याउनु वा कुनै स्कुल/युनिभर्सिटी हाताभित्र रोपेका प्रत्येक बिरुबाहरुले प्रथम श्रेणीको हेरचाह पाउनु सामान्य अर्थमा विकासको परिभाषा हो।

वास्तवमा भन्ने हो भने विगत २५० वर्षको विकासको इतिहास (मुख्यतः १७६० को औधोगिक क्रान्ति र सन् १७७६ मा आदम स्मिथको बिशिस्टीकरण र श्रमविभाजन अवधारणा) हेर्ने हो भने र हाल विश्व परिबेशमा भैरहेका विकासका उदाहरणहरुलाई हेर्दा अब विकास के हो भन्ने कुराको बहस आवश्यक छ जस्तो लाग्दैन । सामान्य विद्यालय शिक्षा लिएर खाडी, मलेसिया वा अन्य कुनै देश गएको व्यक्तिले पनि विकास के हो भन्नेबारेमा लामो गफ गर्न सक्छ।
पुराना आर्थिक विकाससंग सम्बन्धित परिभाषाहरुलाई हेर्दा विकास भन्नाले कुनै देशका नागरिकहरुको गास, बास, कपास, स्वास्थ्य, शिक्षा, आदि जस्ता आधारभूत कुराहरु उपलब्ध हुदै जानु र मानिसहरुको जीवनस्तरमा आमरुपमा परिबर्तन हुनु भन्ने बुझिन्छ । आर्थिक विकासको लागि आर्थिक वृद्धि एउटा अनिवार्य शर्त हो ।
सन् १९७४ मा अर्थशास्त्रमा नोबल पुरस्कार बिजेता स्वीडिस अर्थशास्त्री, समाजशास्त्री एबम राजनीतिशास्त्री Gunnar Myrdal ले सम्पूर्ण सामाजिक व्यवस्थाको उपल्लो स्तरमा वृद्धि (movement upward of the entire social system) नै विकास हो भनेका छन्। Alan Thomas विकास लाई एउटा बिबादित,…जटिल र अस्पष्ट कुरा भनेर लेखेका छन्। सन् १९५०, ६० र ७० को दशकतिर विकासलाई मुख्य गरेर जनताहरुको स्वतन्त्रता र आमुल संरचनात्मक परिबर्तनको रुपमा व्याख्या गरेको पाइन्छ।
UN ले सन २००० तिर तयार पारेको Millennium Development Goals (MGDs – मुख्य ८ उधेश्यहरु तय गरि सन् २०१५ सम्म लागु गरेको) ले गरीबी, स्वास्थ्य, खानेपानी, शिक्षा, बातावरण आदि क्षेत्रमा उल्लेखनिय सुधार को लक्ष्य लिएको थियो र सन् २०१६ पछि २०३० सम्म १७ उधेश्यहरु निर्धारण गरेर Sustainable Development Goals (SDGs) मार्फत यसलाई पुनःनिरन्तरता दिएको छ।
राष्ट्रिय स्तरमा पनि विश्वका सबै अल्पविकसित साथै विकाससिल रास्ट्रहरुले यु. एन. को उदेश्य अनुसार कार्य गर्दै गरेको पाइन्छ। संक्षेपमा विकास भन्नाले एउटा प्रक्रिया हो जहाँ मानिसहरुको जीवनस्तरमा क्रमशः ब्यापक बृदि गर्दै जाने भन्ने बुझिन्छ।
२. अविकास नेपाल र यसका कारणहरु:
नेपाल संसारको सबैभन्दा गरीब मुलुकहरुमध्ये एक हो । दक्षिण एशियामा पनि अफगानिस्तान पछि सबैभन्दा गरीब राष्ट्र हौ हामी। निरपेक्ष रुपमा नेपालको विकासको इतिहास हेर्दा धेरैजसो क्षेत्रहरुमा पहिला भन्दा विकास भएको देखिन्छ। सन् १९९० पछिको २७ बर्षको समयलाईनै हेर्ने हो भने पनि देशमा एक दशक लामो आन्तरिक द्वन्दको बाबजुद स्वास्थ, शिक्षा, खानेपानी, संचार, बाटोघाटो प्राय: सबैजसो क्षेत्रमा क्रमिक रुपमा विकास हुदै गएको देखिन्छ ।
तर सापेक्ष रुपमा जब हामी सन् १९६० को दशकतिरका हामी जस्तै राष्ट्रहरु दक्षिण कोरिया, सिंगापुर, मलेसिया र १९८०/९० को दशकसम्मपनि गरिब देशहरुको बर्गमा गणना हुने भियतनाम, थाइल्याण्ड, कम्बोडिया, आदि देशहरुले गरेको आर्थिक प्रगति हेर्छौ अनि नेपालको विकासको गति बास्तबमै नगण्य हो भन्ने कुरामा सायदै कोहि असहमत हुनसक्छन्।
नेपालमा किन विकास हुन सकेन भन्ने कुराको धेरै बहस भैसकेको छ र विकासको लागि के कुराहरु चाहिन्छ भन्ने कुरा पनि धेरैहदसम्म प्रष्ट भै सकेको छ। सामान्य अर्थमा कुनै देश सबै कुराहरुमा गरिब भएकोले नै गरिब हुन्छ (Any country is poor because it is poor) भन्ने परिभाषा सरल र उत्तिकै गहन पनि छ।
बिभिन्न क्षेत्रमा कार्यरत मानिसहरुले आ-आफ्नो किसिमले तर्कहरु राखेतापनि समग्रमा भन्नुपर्दा आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, भौगोलिक, आदि जस्ता कारणहरुले नेपाल विकास हुन सकेन भन्न सकिन्छ । तर अलि गहिरो तबरले हेर्दै जाने हो भने यी मध्ये कुनै एक वा दुई कारणहरु प्रमुख बाधक बनेको हुन सक्छन्। ५००/६०० वर्ष देखिको ऐतिहासिक पृष्ठभूमि हेर्दै जाने हो भने नेपाल एउटा सार्है जटिल अनि खराब राष्ट्रिय संस्कृतिबाट गुज्रीरहेको छ।
डोर बहादुर बिष्टले भने जस्तै भाग्यबाद, जातिय प्रथा, चाकरीचाप्लुसी, आफ्नो मान्छे जस्ता सामाजिक कुरीतिहरु नेपालको अविकासका मुख्य कारणहरु हुन। नेपालमा कुनै काम गरेपछि असफल भएको अवस्थामा भाग्यलाई दोष दिने चलन अहिलेसम्म बिधमान छ। देशको प्रधानमन्त्री जस्तो मान्छे आफ्नो प्रधानमन्त्री निवासमा सर्न ८-१० दिन लगाएर साइत जुराउनु कालो बोको काटनु आदि जस्ता उदाहरण हाम्रो राष्ट्रिय संस्कृतिको ऐना हो।
३. कसरी बिकसित हुने?
विकास एउटा समग्र प्रक्रिया हो। ठुलाठुला र फराकिला राजमार्गहरु, प्रशस्त मात्रामा देशका हरेक कुनामा गुणस्तरीय बिधालय/बिश्वबिधालयहरु, स्वास्थ्य संस्थाहरु, न्यूनतम सामाजिक सुरक्षा भंत्ता, योजनाबद्द शहरीकरण, आधुनिक कृषि, पर्यटनको पूर्ण विकास आदि जस्ता कुराहरु विकासका सूचकहरू हुन।
यस विषयमा धेरै बहसगर्नुपर्ने देख्दिन म। ईन्छन नेसनल युनिभर्सिटी, दक्षिण कोरियाका Prof. Seo Jin-Wan भन्नुहुन्छ दक्षिण कोरियाको तिब्र भौतिक विकासमा सबैको आखा गएपनि खासमा कोरियाले शुरुमा भौतिक विकाससंगै शिक्षामा झनै जोड दिएको हो। परिणामस्वरुप अहिले कोरियामा ३५० भन्दा बढी बिश्वबिधालय/उच्चशिक्षा पढाई हुने शैक्षिक संस्थाहरु छन् अनि कोरियन प्राथमिक शिक्षा पनि युरोपियन मापदण्ड मै छ।
त्यसैगरी Prof. Kim Dong Won भन्नुहुन्छ कोरियाको विकास चरणमा मध्यमवर्ग एकदमै शिक्षित थियो र त्यो बेला कोरियन भाषामा ‘साम्बी’ (जसको अर्थ ethical scholar भन्ने हुन्छ) शब्द एकदम प्रचलनमा थियो जसको कारण पढेलेखेका मानिसहरु नैतिकवान हुनुपर्छ भन्ने कुरा सिकाइरह्यो अनि सरकारबाट हुने गलत कामहरुको बिरोध पनि गर्न सिकायो।
आफ्नो विश्व प्रसिध्द पुस्तक ‘Bad Samaritans’ मा Cambridge University Prof. Ha-Joon Chang ले कुनै गरिब देशले आफ्नो विकासको लागि धनि देशहरुबाट नविनतम प्रबिधि भित्राउनु पर्ने कुरालाई जोड दिनुभएको छ। उहाँको अनुसार कोरियाले ७० र ८० को दशकतिर बिभिन्न स्रोतहरुबाट आर्जित बैदेशिक मुद्राले नयाँ र उच्च प्रबिधी आयात गरेको थियो जसको परिणामस्वरूप देशले तिब्र विकास गर्न सम्भब भएको थियो।
बिगतमा कोरियामा विधमान बर्गीय बिभेद हटाउन सबै निम्न आयस्तरका नागरिकहरुलाई उपल्लोस्तरका ४-५ जातहरुमध्ये रोज्न दिईएको थियो परिणामस्वरुप अहिले कोरियामा बर्गीय आधारमा गरिने बिभेद छैन। रुपमा हेर्दा देशको विकास हुनु भनेको आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, भौगोलिक, आदि सबैकुराहरुमा समान रुपले विकास हुदै जानु हो तर सारमा हेर्दा कुनै निश्चित एक दुईवटा कुराहरुले समग्र विकासको प्रक्रियालाइ बाधा पुराईरहेका हुन्छन वा भनौ एकदमै सुस्त बनाई रहेको हुन्छ।
नेपालमा सदियौ देखि चल्दै आएको राजनैतिक अस्थिरता, कमजोर प्रशासन र भ्रष्टाचारलाई यसको दोषी मान्न सकिएला तर हाम्रो अविकासको जरो त्यो भन्दा पर छ भन्ने मेरो ठम्माइ छ। देशमा विधमान सामाजिक कुरीति/अन्धविश्वासहरु र त्यसले राष्ट्रिय रुपमै सृजना गरेको गलत राष्ट्रिय संस्कृतिहरु नै मुख्य रुपमा अविकासका कारणहरु हुन। जबसम्म हाम्रो मानसिकता नै पूर्ण बिकसित हुदैन तबसम्म हामी भौतिक विकासको लागि तयार हुनसक्दैनौ।
यहि कारण हो बैदेशिक सहायताबाट सम्पन्न भएका धेरै प्रोजेक्टहरुले दीर्घकालसम्म निरन्तरता पाउननसकेको पनि। उदाहरणको लागि कुनै निश्चित काम जातको आधारमा विभाजन गरि गर्नुपर्ने र उक्त कामलाई तुलनात्मक रुपमा हेयको दृस्टीले हेर्ने भएपछि कसरी देश विकास हुन्छ? कृषि, जलस्रोत र पर्यटन नेपालको लागि तुलानात्मक लाभ भएका क्षेत्रहरु हुन भनि पहिचान भै सकेको छ।
तथ्यांकमा हेर्दा नेपालमा चाहिने कृषिबिज्ञहरुको संख्या उल्लेखनिय छ भनिएको छ तर डोर बहादुर बिष्ट भन्नुहुन्छ धेरैजसो मानिसहरु जो कृषि क्याम्पसहरुमा पढ्छन तिनीहरुलाई कृषिमा कुनै लगाब नै हुदैन। तिनीहरु मध्ये धेरैजसो कथित उच्च जातिहरुबाट आएका हुन्छन जसको लागि कृषिश्रम त उनीहरुको सोचाइमा पनि हुदैन। तिनीहरु खालि केहि शैक्षिक डिग्री लिन र पछि सरकारी वा अन्यकुनै जागिर खानको लागि मात्रै कृषि बिषय पढेका हुन्छन।
यसरी दुर्भाग्यबस नेपालले गलत मानिसहरुलाइ कृषि बिज्ञ बनाइरहेको छ। झट्ट हेर्दा राजनैतिक अस्थिरता, कमजोर र अब्यबस्थित प्रशासन, भ्रस्टचार विकासका मुख्य बाधक तत्वहरु देखिए पनि भित्रि रुपमा यसको मुख्य जड अन्तै छ र त्यो जड देशले अन्जान रुपमा रास्ट्रिय संस्कृतिको रुपमा ग्रहण गरिरहेको छ। यसकारण हामी सबैभन्दा पहिला आफ्नो गल्तिकमजोरीहरु/कुरीतिहरु स्वीकार गरौ। हामी गरीब छौ भन्ने खुलेर स्वीकार गरौ। हाम्रा केहि गलत कुरीतिहरुलाइ बेलैमा सम्बोधन गर।
पोखरी फोहर छ भन्ने थाहा पाइसकेपछि सफा गर्दा पहिला मुहान सफा गरौ। जब हामीहरु मानसिकरुपले, सामाजिक/सांस्कृतिक रुपले तयार हुन्छौ तब बिगत २५० बर्ष देखिनै प्रस्टरुपमा अनुभब गर्दैआएको भौतिक विकासलाई हामीहरुले पनि सजिलै प्राप्त गर्न सक्छौ। नेपालको हावापानी, माटो सुहाउदो विकासको मोडल र द्रूततर आर्थिक बृदिमा योजनाबध्द तरिकाले लागे १५-२० बर्षमा कम्तिमा मलेसिया जत्तिको हुनसक्छौ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend