साझा नेटवर्क
दीपा घर्ती,प्यूठान भदौ ११।
जिल्ला अस्पताल विजुवार प्युठानको अन्तरंग बिभागको बेड नं.२ मा एक दुई बर्षिय बालक अचेत अबस्थामा पल्टिरहेका छन् ।
हातमा सलाइ्र्रन झुण्डाईएको छ। क्याथेटरको माध्यमबाट पिसाव निकालिएको छ । न त उनलाई खाने थाहा छ , न त कुनै प्रतिक्रिया जनाउँछन । ४ दिन अगाडि अस्पताल लिएर आएकी आमा विहिबार बिहान २ बजे देखि सम्पर्क विहिन हुनुभएको छ।माण्डवी गाउँपालिका वडा नं. १ तिराम थक्लेनी घर भएका २ बर्षिय थारुप थापामगर आर्थिक अभावका कारण अस्पतालको बेडमा अचेत अबस्थामा लडिरहेका छन् । जिल्ला अस्पताल प्युठानमा भर्ना भएका थापामगरलाई मेनिन्जाइटिस भएको उनको उपचारमा संलग्न एम.डि.जि.पि डा. सुनिल सुनारले बताउनुभयो । गाउँघरमा यो समस्यालाई दिमागको ज्वरो समेत भनिने उहाँले बताउनुभयो । ४ दिन अगाडि बालकको आमा तिला देवि थापा मगरले उनलाई अस्पताल लिएर आउनु भएको थियो ।
जिल्ला अस्पताल बिजुवारले जिल्लामा उपचार सम्भव नहुने भनेपछि उहाँ बिहिबार राती २ बजे अस्पतालबाट निस्केको र अहिले सम्म सम्पर्कमा नआएको बालकको कुरुवा बसेकी दीदी लक्ष्मी थापामगरले बताउनुभयो । डाक्टरले बाहिर लैजान भन्नभयो आमा टेन्सनले एकछिनमा आउँछु भनेर निस्केको अहिले सम्म आउनु भएको छैन लक्ष्मीले भन्नुभयो“ म संग एक रुपैयाँ पनि छैन।” अब भाईको उपचार कसरी गर्ने,आँखाबाट आँसु झार्दै उहाँले भाईलाई बचाउनको लागि सबैलाई आग्रह गर्नुभएको छ। “दुई बर्षिय बालकको बुवाको निधन भएको ८ महिना भयो । घरमा बालकको आमा , २४ र ६ बर्षिय दाजुहरु , १८ र ९ बर्षिय दीदीहरु छन् । परिवारमा एक जनाले मात्र कमाउने दाई कोभिड १९ का कारण भारतमा अलपत्र परेका छन्। बुवा बितेको बेलामा लागेको ऋण अझै तिर्न नसकेको लक्ष्मीले बताउनु भयो । गाउँमा पनि ऋण दिदैनन् बाहिर जान डाक्टरले भनेपछि टेन्सनले आमा भागेर गएको हुन सक्ने उहाँको भनाई छ ।
बालकको निकै पिडादायी अबस्था देखेपछि उपचारमा सलंग्न डा. सुनिल सुनारले बालकको उपचारमा आवश्यक परेका औषधीहरु आफैले किनेको बताउँनुभयो । खाना खाने पैसा समेत नभएपछि बालकको दीदीलाई अस्पतालबाट निःशुल्क खानाको ब्यवस्था गरिएको छ । बालकको अवस्था जटिल बन्दै गएको भन्दै तत्कालै उपचार गर्नुपर्ने डा. सुनारले बताउनुभयो । बालकको अबस्था देखेर आफैले औषधी किनेर उपचार गर्नु भएका सुनारले बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend