साझा नेटवर्क
काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर, पर्सा, बारा, कपिलवस्तु, रुपन्देही र कास्कीका १–१ जना रहेका छन् ।
कास्कीको पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । पोखरा ११ की ३२ वर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन कक्षमा उपचाररत थिइन् ।
यसैगरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तुका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोराना विशेष अस्पतालका फोकल पर्सन डा सुर्दशन थापाले कपिलवस्तुको कपिलवस्तु जिल्लाको तौलिहवा नगरपालिका–१ का ५० वर्षीय पुरुषको गतराति उपचारका क्रममै मृत्यु भएको बताए ।
यही भदौ ५ गते संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पताजस्ता समस्या थिए । स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियो ।
बुटवलमै उपचाररत अर्की एकजना संक्रमित महिलाको पनि मृत्यु भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकीनगरकी ७० वर्षीया कोरोना संक्रमित महिलाको आज बिहान १० बजेतिर मृत्यु भएको अस्पतालका फोकल पर्सन थापाले जानकारी दिए ।
साउन २६ मा संक्रमण पुष्टि भएकी उनको घरमा आइसोलेशनमै बसेर उपचार जारी थियो। घरमा उपचारका क्रममा स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि साउन ३१ गते धागो कारखानास्थित कोरोना अस्पतालमा भर्ना गरिएको अस्पताले जनाएको छ । उनलाई ४ दिन अघिदेखि भेन्टिलेटरमा राखेर उपचार जारी रहेको थियो ।
यसैगरी बाराको सुवर्ण गाँउपालिका वडा नम्बर ४ बस्ने एक गर्भवती महिलाको पनि कोरोनाबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा २३ वर्षीय महिला रहेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend